शिवसताक्षी,जेठ ४ । झापाको शिवसताक्षीमा जारी मेयर कपको फुटबलको फाइनलमा वडा नं. ११ प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा मिनी भेट्रान क्लबलाई ५–१ गोल अन्तरले हराउँदै वडा नं. ११ फाइनलमा प्रवेश गरेको हो ।
वडा नं. ११ को तर्फबाट निकेश श्रेष्ठले २ तथा देव मल्लिक, आकाश पौडेल र सुरज मगरले १÷१ गोल गरेका थिए । यता मिनी भेट्रानको तर्फबाट लक्ष्मण अधिकारीले एक गोल फर्काएका थिए । खेलको म्यान अफ दी म्याच वडा नं. ११ खेलाडी निकेश श्रेष्ठ घोषित भए ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलबाट वडा नं. ८ फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा वडा नं. ९ लाई हराउँदै वडा नं. ८ फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । भोलि हुने फाइनल खेलमा वडा ८ र ११ भिड्ने भएका छन् ।

त्यस्तै क्रिकेट विधातर्फ आज भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै वडा नं. ११ फाइनलमा प्रवेश गरेको छ । वडा नं. ११ ले वडा नं. ९ लाई २८ रनले हराउँदै उपाधिनजिक पुगेको हो । खेलको म्यान अफ द म्याच वडा नं ११ का नेत्र पाठक घोषित भए । त्यस्तै क्रिकेट विधाको दोस्रो खेलबाट वडा नं. ८ फाइनलमा प्रवेश गरेको छ । वडा नं १० लाई हराउँदै वडा नं ८ फाइनलमा प्रवेश गरेको हो । भोलि हुने फाइनल खेलमा वडा नं. ८ र ११ भिड्ने भएका छन् ।

प्रतियोगिताको फुटबलतर्फ प्रथम हुनेले ७० हजार, द्वितीयले ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै भलिबलतर्फ प्रथम हुनेले ५० हजार र द्वितीयले ३० हजार, क्रिकेट खेलतर्फ प्रथम हुनेले ५० हजार र द्वितीयले ३० हजार र व्याडमिन्टन डबलतर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ६ हजार र सिंगलतर्फ प्रथम हुनेले ५ हजार र द्वितीयले ३ हजारसहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्