झापा, जेठ ५ । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना प्रदान गर्ने कार्यलाई तीब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विद्यार्थीहरुलाई अभिमुखीकरण गर्न थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन पालना, सडकको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीसम्बन्धी ट्राफिक सचेतनामुलक एवं अभिमुखीकरण कार्यक्रम विभिन्न विद्यालयहरुमा संचालन गरिएको हो ।

शुक्रवार बिर्तामोड २ मा रहेको मोहनमाया माध्यमिक विद्यालय र वीर अमरसिंह माध्यमिक विद्यालयको कक्षा–९ र १० मा अध्ययनरत अन्दाजी १६० जना विद्यार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक सचेतनामुलक जानकारी प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले बताए ।

त्यस्तै बिहीवार शिवसताक्षी ७ स्थित भानु माध्यमिक विद्यालय र वडा न. ८ स्थित झिलझिले माध्यमिक विद्यालयका कक्षा–९ र १० मा अध्ययनरत अन्दाजी २८० जना विद्यार्थीहरुलाई ट्राफिक प्रमुख न्यौपानेबाट अभिमुखीकरण गरिएको थियो । सवारी चालकको लापरवाहीका कारण दुर्घटना बढेसंगै ट्राफिक प्रहरीले जिल्लामा सचेतनामूलक कार्यक्रमलाई तीब्रता दिएको हो । त्यसक्रममा १४ सयबढी दुई पांग्रे चालकहरुलाई ट्राफिक सचेतनामुलक प्रशिक्षण दिएको छ ।

‘दुई पांग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा सचेतनामुलक प्रशिक्षण संचालन गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्