झापा,जेठ ५ । धरान बास्केटबल सङ्घको आयोजना तथा संयोजनमा आयोजित दोस्रो अल्फाबिटा ओपन महिला–पुरुष बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ इमोर्टल क्लबले चुमेको छ ।

इन्डोर बास्केटबल कोर्ट धरान रङ्गशालामा सम्पन्न फाइनल खेलमा इमोर्टल क्लबले यलम्बर क्लबलाई ७५–५६ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । सहज जित निकाल्न सफ इमोर्टलले प्रत्येक क्वाटरमा यलम्बरविरुद्ध १५–१२, २१–११, २१–१५ र अन्तिम क्वाटरमा १८–१८ अङ्क जोडेको थियो ।

इमोर्टलले उपाधिसँगै नगद ५० हजार, ट्रफि, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । इमोर्टलबाट उत्कृष्ट प्रदर्शन गरेका अभिषेक डङ्गोल प्रतियोगिताका उत्कृष्ट खेलाडी एमभिपि उपाधि विजेता घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका यलम्बरले नगद २५ हजार, ट्रफि, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी महिलातर्फको खेलमा आइएसए नेपालले धरान मेघा कलेजलाई ३९–३१ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको छ । पहिलो क्वाटरमा ५–५ बराबर अङ्क जोडेका आइएसए र धरान मेघाले दोस्रो क्वाटरमा ११–१३ अङ्क जोड्दै पहिलो हाफमा मेघा कलेज १८–१६ अङ्कले अग्रता लिएका थिए ।

दोस्रो हाफको खेल सुरु भएपछि आइएस नेपालले आफ्नो खेललाई सुधार्दै तेस्रो क्वाटरमा १२–४ र चौथो क्वाटरमा ११–९ अङ्कको अग्रता बनाउँदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

आइएसए नेपालले उपाधिसँगै नगद २० हजार, ट्रफि, पदक र प्रमाणपत्र प्राप्त गरे भने टिमलाई उपाधि दिलाउन प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेकी सन्ध्या डङ्गोल प्रतीयोगिताको उत्कृष्ट खेलाडी पुरस्कार एमभिपि उपाधि विजेता घोषित भइन् । उनले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरिन् । डङ्गोलले फाइनल खेलमा व्यक्तिगत २१ अङ्क जोडेकी थिइन् । उपविजेता धरान मेघा कलेजले नगद १० हजार, ट्रफि, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको राइजिङ्ग प्लेयर महिलातर्फ इमोर्टल क्लवका सुनीता राई र पुरुषतर्फ सबिन राई घोषित भए । सुनीता राईले नगद २ हजार ५ सय, र सबिन राईले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राई, सभाध्यक्ष धरान बास्केटबल सङ्घका अध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीलगायतले वितरण गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्