लक्ष्मी उप्रेती,
मेचीनगर । सरकारले पाँचौँ पटक नेपालका विभिन्न १८ जिल्लामा थन्काएर राखिएको रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि झापामा झण्डै डेढ दशक अघिदेखि गोदाममा थन्क्याएर राखिएको रक्तचन्दन फिर्ता हुँदैछ ।

गत बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि वि. सं. २०६५, २०७१, २०७६ र २०८० मा फिर्ता गर्ने निर्णय गरेको थियो । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) मा संकटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमूना जुन मुलुकबाट पैठारी भएको हो, सोही मुलुकमा फिर्ता पठाउने व्यवस्था गरिएको छ । रक्तचन्दनलाई संकटापन्न वनस्पतिमा सूचीकृत गरिएको छ ।

२०६५ सालमा बसेको मन्त्रिपरिषद् बैठकले ५४ हजार १ सय १२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर ३६ हजार ९२८ किलो रक्तचन्दन मात्र फिर्ता गरिएको वन अधिकारीहरुको भनाई छ । २०७१ फागुन १२ मा बसेको मन्त्रिपरिषद् बैठकले २७ हजार १ सय ६६ केजी रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । २०७६ साल पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भएपनि रक्तचन्दन फिर्ता हुन नसकेको संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । २०७६ मा कोभिडको कारण देखाएर फिर्ता लगेको थिएन । नेपालका विभिन्न १८ जिल्लामा थन्क्याएर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने तयारी सुरु भएको वन तथा वातावरण मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बद्रीराज ढुंगानाले जानकारी दिए । ‘भारतलाई रक्तचन्दन फिर्ता गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयको पत्र मन्त्रालयलाई प्राप्त भएपछि हाम्रो मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेर पठाइसकेको छ ’प्रवक्ता ढुंगानाले टेलिफोनमा कुराकानी गर्दै भने ‘पराराष्ट्र मन्त्रालयले ‘डिप्लोमेटिक नोट’ भारतीय दूतावासलाई रक्तचन्दन फिर्ता लिन पठाइसकेको छ ।’ अब भारतले कुन नाका भएर फिर्ता लैजाने हो वा कसरी फिर्ता ल्याउने हो ‘गृहकार्य’ गर्ने उनको भनाई छ । भारतबाट जति छिटो रक्तचन्दन फिर्ता लिने पत्र प्राप्त हुन्छ, त्यति छिटो नेपालले फिर्ता पठाउने मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकबाट भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णयको जानकारी वन तथा वातावरण मन्त्रालयलाई जानकारी गराएलगत्तै वन तथा वातावरण मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर पठाएको प्रवक्ता ढुंगानाले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि वन तथा वातावरण मन्त्रालयले यसको फिर्ता प्रक्रिया शुरु गरेलगत्तै गोदाममा थन्किएको रक्तचन्दन फिर्ता हुने डिभिजन वन कार्यालय झापा ढुक्क रहेको हो । विभिन्न समयमा जिल्लाका अलग अलग स्थानबाट बरामद १९ हजार केजीबढी केजी रक्तचन्दन डिभिजन वन कार्यालय झापाको गोदाममा थन्किएको छ । वन अधिकारीहरुका अनुसार २०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघनडुब्बालगायत सीमावर्ती क्षेत्रबाट बरामद भएको १९ हजार ८ सय ३२ केजी (२० मेट्रिक टन) रक्तचन्दन वन कार्यालयको गोदाममा थन्किएका कारण चौबीसैं घण्टा सुरक्षा दिनु परेको छ । वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले पाँचौँ पटक रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि यसको प्रक्रियासमेत अघि बढाएलगत्तै डेढ दशक अघिदेखि वन कार्यालयको गोदाममा थन्किएको रक्तचन्दन फिर्ता हुनेमा आशावादी रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । ‘अब यो सवै प्रक्रिया संघीय सरकारबाट हुन्छ, प्रदेश सरकारले समेत फिर्ता प्रक्रिया शुरु गर्न सक्दैन’ प्रमुख राईले भने ,‘आशा गरौ अब झापा वन कार्यालयको गोदाममा रहेको रक्तचन्दन पनि फिर्ता हुन्छ होला ।’उनले यस पटक भारतले रक्तचन्दन फिर्ता लिने विश्वास व्यक्त गरे । यसअघि रक्तचन्दन फिर्ता लिने निर्णय भएपनि विभिन्न चाडपर्व परेका कारण समय अभावले फिर्ता लैजान नसकेको बताईएको छ । यो पाँचौँ पटक रक्तचन्दन फिर्ता लिनेमा नेपाल सरकार समेत ढुक्क छ । वन तथा वातावरण मन्त्रालयका अनुसार हाल झापालगायत विभिन्न १ लाख ७३ हजार ७१ केजी रक्तचन्दन भण्डारण गरिएको छ ।

प्रवक्ता ढुंगानाका अनुसार सरकारले निर्णय गरेको ९० दिनभित्र नेपालको सीमा कटाएर रक्तचन्दन पठाइसक्नुपर्ने व्यवस्था छ । नलगे आन्तरिक रूपमा देशमै अन्य प्रक्रियाबाट व्यवस्थापन हुने व्यवस्था गरेको छ । यसपटक नेपालका विभिन्न १८ जिल्लामा भएको रक्तचन्दन भारतले आफ्नै खर्चमा स्वदेश लैजाने तयारी गरेको सहसचिव ढुंगानाले बताए । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)को प्रावधान अनुसार संकटापन्न वनस्पतिको रुपमा सूचीकृत रक्तचन्दन तस्करी भएर जुन देशमा पुगे तापनि सम्बन्धित देशमा फिर्ता गर्नु पर्ने व्यवस्था छ ।

महासन्धिको प्रावधान बमोजिम नेपाल सरकारले बरामद रक्तचन्दनको बिक्री–वितरण गर्न नपाउने र उत्पत्ति भएको देशलाई नै फिर्ता गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुको भनाई छ । औषधि र धार्मिक कार्यमा प्रयोग हुने रक्तचन्दन एक प्रकारको रातो रंगको सुगन्धित काठ हो । महँगोमा बिक्री हुने भएकाले यसको तस्करी हुने गरेको छ । दक्षिण भारतको आन्ध्र प्रदेश, कर्णाटक र तमिलनाडुमा यसको घना जंगल रहेको छ । त्यहीँबाट तस्करी भएर नेपालको अबैध बाटो हुँदै रक्तचन्दन चीनसम्म पुग्ने स्रोतको भनाई छ । नेपालमा सेतो चन्दनको मात्र बोट हुन्छ, रक्तचन्दन पाइँदैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्