बिर्तामोड,जेठ ६ । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको अध्यक्षमा खड्गराज गिरी सर्वसम्मत चयन भएका छन् ।

बिर्तामोडमा आइतवार भएको नगरको बिशेष चौथो नगर अधिबेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा खेमराज गिरी, उपाध्यक्षमा सम्झना पुरी (गिरी), सचिवमा धनबहादुर पुरी (प्रजित), सह–सचिवमा बिनोद गिरी (बद्री) र कोषाध्यक्षमा बिदुर गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा रणबहादुर गिरी, पदुमादेवी पुरी (पुनम), विश्वनाथ बन, हरि गिरी पनि सर्वसम्मत चयन भएका छन् । अन्य सदस्य आवश्यकताका आधारमा समितिले मनोनित गर्ने जनाइएको छ ।

कार्यक्रममा अक्षयकोष सञ्चालन तथा ब्यवस्थापन समितिसमेत सार्वजनिक गरिएको छ । नेपाल दशनामी समाजका कोशी प्रदेश सह–सचिव तथा बिर्तामोड नगर सल्लाहकार उमेश भारतीले नगर समिति र अक्षयकोष सञ्चालन तथा ब्यवस्थापन समितिको घोषणा गरेका थिए । उक्त समितिको संयोजकमा अर्जुन गिरी, सदस्यमा नरनाथ गिरी, खड्गराज गिरी, सम्झना पुरी (गिरी), र बिदुर गिरी रहेका छन् । उक्त अक्षयकोषमा ११ जनाले जनही ५० हजार रुपैयाँका दरले सहयोग गरेका छन् । हाल उक्त कोषमा ५ लाख ५० हजार रुपैयाँ रहेको संयोजक अर्जुन गिरीले जानकारी दिए ।

सोही कार्यक्रमकाबिच समाजका कोशी प्रदेश सह–सचिव तथा नगर सल्लाहकार उमेश भारतीलाई नगर समितिलाई हरेक कुरामा समन्वयको भूमिका खेल्दै सहयोग गरेको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो । त्यस्तै नगर समितिका लागि फर्निचर खरिद गरी सहयोग गर्ने खड्गराज गिरी र धनबहादुर पुरी (प्रजित) लाई पनि सम्मान गरिएको थियो । त्यस्तै नगर समितिको कार्यक्रममा फर्निचर सहयोग गर्ने बिर्तामोड अनलाइन सोफाका सञ्चालक खड्क थापालाई समेत सम्मान गरिएको थियो ।

समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । नवनिर्वाचित नगर समितिलाई प्रमुख अतिथि गोबिन्दबिक्रम गिरीले सपथ ग्रहण गराएका थिए । नगर समिति सदस्य खेमराज गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी, बिशिष्ठ अतिथि समाजका कोशी प्रदेश सह–सचिव उमेश भारतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव उद्धव पुरीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्