झापा,जेठ ७ । ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनमा नेपाल आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् । निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेण्डमा पार गर्दै प्रथम भएका हन् ।

यस्तै, महिला हाफ म्याराथनतर्फ नेपाल आर्मी क्लबकै सुनसरी रोकाया प्रथम भएकी छन् । रोकायाले निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेण्डमा पार गर्दै प्रथम बन्न सफल भएकी हन् । खुलातर्फ म्याराथन प्रतियोगितामा आर्मी क्लबकै तिलक सुनुवार द्वितीय र पाँचथरको फिदिम नगरपालिका–१० प्रताप थाम्सुहाङ तृतीय भएका छन् ।

महिला हाफतर्फ फुङ्लिङ नगरपालिका–६ की कुमारी गुरुङ र मैवाखोला गाउँपालिका–२ की विनीता तामाङ तृतीय भएकी छन् । खुला म्याराथनतर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने गरी करिब ४७ किलोमिटर दूरी कायम गरिएको थियो । त्यस्तै महिला हाफ म्याराथनतर्फ पनि फुङ्लिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म पुगेर फुङ्लिङ बजार नै आइपुग्नुपर्ने करिब ३६ किलोमिटर दूरी कायम गरिएको थियो ।

खुला म्याराथनका विजेताले एक लाख ५१ हजार १११ रुपियाँ, उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै महिला हाफतर्फका विजेताले ८१ हजार १११ र उपविजेताले नगद ५१ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । खुला म्याराथनमा ११३ जना र महिला हाफ म्याराथनमा ४७ जना प्रतिस्पर्धी सहभागी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्