झापा,जेठ ७ । चिया र अलैंचीको मुख्य उत्पादन हुने इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापनाका लागि भौतिक संरचना निर्माणको काम जारी छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्रलाई चिया र अलैंची उत्पादन हुने स्थानमा स्थापना गर्न जग्गा प्राप्तिसँगै भौतिक संरचनाको काम थालिएको हो।
अहिले सम्ममा प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ । यस्तै, चिया प्रशोधन भवन र गोदाम भवनको निर्माण जारी छ । चिया प्रशोधन भवन, बाटो निर्माण, जग्गा खार्ने, खानेपानी व्यवस्थापनलगायतका काम भइरहेको छ ।

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका– १ स्थित साँखेजुङमा ५० रोपनी जग्गामा भौतिक संरचनाको काम भइरहेको छ । केन्द्रलाई आवश्यक पर्ने बाँकी ५० रोपनी जग्गा व्यवस्थापन गरी उपलब्ध गराउने प्रक्रिया थालिएको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले जानकारी दिए । “कार्यालय भवन निर्माणका लागि यो वर्ष दुई करोड ३८ लाख रुपियाँ बजेट छुट्टिएको थियो । यो रकमले जग्गामा कम्पाउण्डका लागि तारबार र कार्यालय भवन निर्माण हुनेछ,“ दुलालले भने, “आगामी आर्थिक वर्षका लागि पनि तीन करोड रुपियाँ बजेट यो केन्द्रका लागि प्रस्ताव भएको जानकारी आएको छ । आगामी वर्ष निर्माण सम्पन्न भएर करिब सञ्चालनमा आउनेछ ।“
राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमको एक टोलीले निर्माणाधीन केन्द्रको कामको अनुगमन गरेको छ । “इलाममा सञ्चालन गर्न लागिएको यो केन्द्रले चिया र अलैंचीको क्षेत्रमा अनुसन्धान गर्छ । सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैंची विकास केन्द्रले अलैंची विस्तारको काम गर्छ, यो कार्यालयले चाहिँ अनुसन्धानको काम गर्छ,“ धनकुटास्थित राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर हिमाल शर्माले भने, “अहिलेसम्म नेपाली चियाको जात छैन, नेपाली अलैंचीको पाँच वटा जात बल्ल दर्ता भएको छ । अझै अन्य जातको अनुसन्धान हुनै बाँकी छ ।“ यो कार्यालय इलाममा स्थापनापछि चिया र अलैंचीका लागि महत्वपूर्ण काम हुनसक्ने शर्माले बताए ।

विसं १९२० मा रोप्न सुरु गरिएको चियाको भने अहिलेसम्म नेपालको आफ्नै जात छैन । चिया रोपेको ६० वर्षपछि आफ्नो जात दर्ता गर्न पाइन्छ । तर, १६० वर्ष पुग्दा पनि नेपाली चियाको जात बन्न सकेको छैन । अहिले अनुसन्धान केन्द्रले चियाको आफ्नै जात बनाउन पनि लागिरहेको बताइएको छ । चिया र अलैंचीका लागि इलाम महत्वपूर्ण रहेकाले अनुसन्धान केन्द्र पनि इलाममै स्थापना हुँदा नेपाली चिया र अलैंचीका लागि चिया र अलैंचीको अध्ययन, अवलोकन र अनुसन्धान गर्नेहरुलाई समेत सहज हुने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्