लक्ष्मी उप्रेती,
मेचीनगर । नगरलाई लागूऔषधमुक्त बनाउन जुटेको मेचीनगर नगरपालिकाले पछिल्लो समय विविध रचनात्मक कार्यलाई तीब्रता दिएको छ ।

मेचीनगरलाई निकट भविष्यमा लागूऔषध प्रयोगमुक्त नगरपालिका बनाउने उद्धेश्यका साथ ‘प्रारम्भिक प्रशिक्षण कार्यक्रम’ सम्पन्न गरिसकेको छ भने अन्य थुप्रै वडास्तरीय साना कार्यक्रमसमेत सम्पन्न भएका छन् । झापामा खुला सीमाका कारण प्रहरी प्रशासनलाई छलेर लागूऔषध सहजै रुपमा भित्रिने गरेको छ । यसमा बालबालिकालाई समेत प्रयोग गरिएको पाइन्छ । सम्बन्धित निकाय र स्थानीय तहहरुले यो समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा मेचीनगर नगरपालिकाले सक्रियता देखाएको छ ।

लागूऔषध दुव्र्यसनी राष्ट्रको ठुलो समस्या भएको र त्यसको अन्त्य पूर्वी नाकाबाटै गर्नेगरी मेचीनगर नगरपालिका र नार्कोनन् नेपाल संस्थाको संयुक्त पहलमा केही दिनअघि कार्यक्रम आयोजना गरिएको थियो । लागूपदार्थको दुव्र्यसनी भएपछि चोरी, डकैती, हत्याजस्ता आपराधिक क्रियाकलाप मात्र नभएर साना, मध्यम वर्गीयदेखि विश्वमा ठुल्ठुला राजा महाराजाका घरसमेत सकिएको भन्दैं यस्तो कुलतमा जानेर वा नजानेर फसेका युवाहरुलाई बाहिर निकालेर सहजरुपमा जीवनयापन गराउन स्थानीय सरकार लागिपरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । ‘लागूऔषधको समस्या एउटा पालिकाको मात्र होईन’ नगरप्रमुख बुढाथोकीले भने ,‘घरपरिवार, समाज अनि राष्ट्रकै समस्या हो र यसले सबै क्षेत्र तहसनहस पार्छ ।’

युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउनका लागि सक्रियता अगाडि नबढाए यसले डरलाग्दो अवस्थामा पु¥याउने मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । लागूऔषधको प्रयोगलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सचेतना कक्षा सञ्चालन गरी किशोर र युवाहरुलाई सजग गराउने काम गर्दै आएको उनले बताइन् । यसै क्रममा जेठ २ देखि ६ गतेसम्म नगरपालिकाले लागूपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्घेश्यका साथ प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लागूऔषध तथा सुर्तीजन्य पदार्थले समाजमा पारिरहेको असर न्यूनीकरण गर्नका लागि नगरका प्रत्येक वडाबाट २÷ २ जना सहभागीलाई प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक सोमराज ढकालले जानकारी दिए । कार्यक्रममा लागूऔषध तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सामाजिक परिचालनका विधि र प्रक्रियाहरुका विषयमा प्रशिक्षक गोविन्द न्यौपाने तथा लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापनाका विषयमा प्रशिक्षक राजु बुढाथोकीले जानकारी गराएका थिए ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्ती, सन्दिप सापकोटा, मानसिक रोग विशेषज्ञ चिकित्सक, तथा लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी नायव निरीक्षकलगायतका प्रशिक्षकहरुले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमको समापन समारोहमा बोल्दैं नगर प्रमुख बुढाथोकीले समाजमा निकै ठूलो समस्यामा रहेको लागूऔषधको कारोवार र सेवनलाई न्यूनीकरण गर्दै नगरलाई लागूऔषध प्रयोगमुक्त नगरपालिका बनाउने काममा महत्वपूर्ण भूमिका खेल्न सुझाव दिए । यो कार्यक्रमलाई अवसरका रुपमा लिएर तालिममा सिकेको कुरालाई प्रत्येक गाउँ–गाउँ शहर–शहर र शैक्षिक संस्थामा पुर्याउनसमेत सहभागीहरुलाई नगर प्रमुख बुढाथोकीले आग्रह गरे ।विकराल समस्याको रुपमा देखिएको लागूऔषधको समस्या समाधानमा सवै संयन्त्र लाग्नु पर्ने नगर उपप्रमुख उप्रेतीको जोड छ ।

लागूऔषध प्रयोगकर्ताका कारण जिल्लामा विभिन्न आपराधिक क्रियाकलापमा वृद्धि हुँदै गएका कारण त्यसविरुद्ध प्रहरी कडारुपमा प्रस्तुत भएको छ । जिल्लामा पछिल्लो समय लागूऔषधका मुद्धाको चाङ पनि निकै ठुलै छ । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को दश महिनामा यसमा संलग्न स्वदेशी र विदेशी गरी कुल ३ सय ७२ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्