धरमपुर, जेठ ७ । शिवसताक्षी नगरपालिका ३ को सहयोगमा सोमबारदेखि फुटबल प्रशिक्षण सुरु भएको छ ।

वडाबाट उत्कृष्ट युवा खेलाडी उत्पादन गर्ने उद्देश्य राखेर आधारभूत तहको फुटबल प्रशिक्षण थालिएको वडा अध्यक्ष भाष्कर न्यौपानेले बताए । ‘यो प्रशिक्षणमा वडाका ६० किशोर र युवा सहभागी हुनेछन्,’ वडा अध्यक्ष न्यौपानेले भने ।

‘किशोर –किशोरी, युवा – युवतीले खेलकुदको माध्यमबाट शारीरिक, मानसिक रुपमा अब्बल रहन सके भने गाउँ, समाज नगरको विकासमा टेवा पुर्याउन सक्छन् । त्यसैका लागि पनि वडाले खेलकुदलाई १ लाख ५० हजार बजेट छुट्याएको छ,’ उनले भने । फुटबल प्रशिक्षणमा वडाका किशोर किशोरी, युवा युवती र खेलाडीलाई सहभागी हुन वडा अध्यक्ष न्यौपानेले आग्रह गरेका छन्।

स्थानीय भानु माध्यमिक विद्यालयको मैदानमा हुने फुटबल प्रशिक्षणको मुख्य प्रशिक्षकमा पूर्व राष्ट्रिय खेलाडी फुर्वा तामाङ र बुद्ध पेहिमले सहजीकरण गर्ने शिवसताक्षी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले जनाएको छ।
वडा खेलकुद विकास समितिको आयोजनामा भएको उक्त कार्यक्रम वडा अध्यक्ष भाष्कर न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रममा वडा सदस्य शंकर राई, पासाङ दोर्जे तामाङ, नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछाने, भानु माध्यमिक विद्यालय पाराबारीका प्रधानाध्यापक विजय चौधरी, शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु भट्टराई, नगर खेलकुद विकास समितिका संयोजक सुरज रिङ्गालुङ राई, पाराबारी बजार विकास समितिका अध्यक्ष मेघराज ओझालगायतको सहभागिता थियो। कार्यक्रम खेलकुद विकास समितिका अध्यक्ष उदय देवानको सभापतित्व र सुभाष तामाङको सञ्चालनमा भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्