झापा,जेठ ८ । विराटनगरस्थित जिल्ला कारागार मोरङका एक जना कैदीको मंगलबार बिहान मृत्यु भएको छ।
लागूऔषध मुद्दाका कैदी मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले जानकारी दिए। उनका अनुसार खाना खाएर बसेका थापा बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएर ढलेका थिए। एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो।


अस्पताल पु¥याउनसाथ चिकित्कसले मृत घोषित गरेको जानकारी बरालले दिए। उनका अनुसार मृतक थापालाई मुटु रोग सम्बन्धी पुरानै समस्या थियो। ‘यसअघि पनि उपचारका लागि अस्पताल लैजाने गरिएको थियो,’ बरालले भने, ‘नियमित औषधि सेवन गरिरहेका थिए।’ मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको उनले बताए।


थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते २ वर्ष कैद सजायको फैसला गरेको थियो। तर, त्यसअघि २०८० असोज १७ गते अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिँदै कारागार चलान गरेको थियो। अदालतको फैसालअनुसारको सजाय भुक्तान गरिरहेका थापाको मृत्यु भएको जेलर बरालले बताए।


उनका अनुसार मोरङ कारागारमा मंगलबारसम्म १ सय जना महिला र बालबालिकासहित १ हजार २९ जना कैदीबन्दी रहेका छन्। कारागारको क्षमता २ सय ५० जनाको हो। तर, क्षमताभन्दा बढी राखिएपछि कैदीबन्दीले अनेक समस्या झेल्नु परिरहेको छ। कैदीबन्दीलाई सुत्न, खान र बस्न समेत समस्या भइरहेको कारागारले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्