लक्ष्मी उप्रेती
मेचीनगर । मेचीनगर नगरपालिकाले जडीबुटीजन्य कन्दमुल सिमल तरुल बालीको प्रवर्द्धनमा जोड दिँदै कृषकहरुलाई खेती गर्न आग्रह गरेको छ ।

बहुउपयोगी सिमल तरुलको उपयोगिता, महत्व , उद्योग र खेतीका बारेमा नगरपालिकाले यसका विज्ञसँग नगरका कृषक, कृषिसँग सम्बन्धित संघ संस्था, सहकारीका प्रतिनिधि र जनप्रतिनिधिहरुलाई राखेर छलफल शुरु गरेको छ ।
दुई महिनाअघि नगरपालिकाले जनप्रतिनिधि, कृषि क्षेत्रका सहकारी संस्था, कृषक समूहको उपस्थितिमा सिमल तरुलको व्यावसायिक उत्पादनका विषयमा विषयविज्ञ डाक्टर डा. बद्रीप्रकाश ओझाको सहजीकरणमा छलफल गरेको थियो । सोही क्रममा मंगलबारसमेत नगरपालिकाको सभाहलमा यही विषयमा छलफल तथा अन्तरक्रिया भएको छ ।

मेचीनगर नगरपालिकाले नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि (एनएमसी) को समन्वयमा आयोजना गरेको कार्यक्रममा विषयविज्ञ डाक्टर ओझाले सिमल तरुल बहुवर्षीय उपयोगी बाली भएपनि नेपालमा सिमल तरुल कसरी भित्रियो भन्ने खास तथ्य नभेटिएको बताए । हाल नेपालको पूर्वी भागमा यसलाई उसिनेर खाने प्रचलन छ । यसको उत्पत्ति दक्षिण अमेरिकामा भएको भनाई छ । सिमल तरुल पोस्टडक्टरल अनुसन्धानमा संलग्न डाक्टर ओझाले सिमल तरुलको पिठो बनाएर मःम, चाउमिन, पास्ता, रोटी आदि परिकार तयार पार्न सकिने बताए ।

त्यस्तै, आइसक्रिम र ससेजमा पनि सिमल तरुलको पिठो हालिने भएपनि यो अर्कै कुनै नामले आयात हुने सायद कच्चा मासु वा आइसक्रिमको कच्चा पदार्थ भनेर आउने भएकाले यसको भन्सारमा कुनै अभिलेख नभेटिने उनको भनाई छ । सिमल तरुल खासगरी सुक्खा र बन्जर जमिनमा खेती हुने भएकाले पूर्वका थुप्रै ठाउँमा यसको खेती हुँदै आएको छ । नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, सर्लाही, सिन्धुली, धनुषा, चितवन नवलपरासी, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा खेती गरिँदै आएकाले नेपालमा सिमल तरुल प्रशोधन उद्योग स्थापनाको डाक्टर ओझाले आवश्यकता औल्याए । नेपालमा प्रतिहेक्टर १५ टनसम्म उत्पादन भएको पाइन्छ । नेपालमा पुरानो बीउको प्रयोग, यसलाई त्यति वास्ता नगर्ने, मलजलको उचित व्यवस्थापन नभएका कारण कम उत्पादन भएको किसानहरुको अनुभव छ ।

यसो गर्दा स्थानीय स्तरमा रोजगारको अवसर सिर्जना हुने, स्थानीयले रोजगार प्राप्त गर्ने, सबैभन्दा बढी जनताले यसको खेतीबाट लाभ लिन सक्ने बताउँदैं डाक्टर ओझाले सिमल तरुललाई रोप्न, गोड्न र खन्न जनशक्ति आवश्यक हुने हुँदा समथर जमिनमा मेसिनको पनि प्रयोग गर्न सकिने जानकारी दिए । यसको बोटबाट उत्पन्न हुने एक किसिमको किटनाशक गन्धले प्राकृतिक किटनाशकको काम गर्ने, जसले विषादीरहित खेतीका लागि प्रश्रय मिल्ने र सिमल तरुललाई बारका रूपमा लगाएर भित्र तरकारी वा खाद्यान्न लगाउन पनि सकिने भएकाले निकै उपयोगी हुने उनको भनाई छ । यसको पिठोलाई पशुदानामा मकैको विकल्पका रूपमा मिसाउन सकिने र यसबाहेक सिमल तरुलको पातलाई पनि पशुदानाका रूपमा प्रयोग गर्न सकिने उनले बताए । कच्चा सिमल तरुलबाट ३० प्रतिशत पिठो निकाल्न र अरु अंश पशुदानाका रूपमा वा एक सय केजी कच्चा सिमल तरुलबाट २० केजी साबुदाना र अरु ५० केजी अन्य कच्चा पदार्थ निकाल्न सकिने बाँकी १० प्रतिशत प्रशोधनका क्रममा नष्ट हुने बताईएको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनका अनुसार ३५ ग्राम सिमल तरुलमा ३१ ग्राम कार्बोहाइड्रेट पाइन्छ । दुई ग्राम रेसा पाइन्छ भने पोटासियम र क्याल्सियम क्रमशः हामीलाई दैनिक चाहिने मात्रामध्ये दुई र डेढ प्रतिशत पाइने उनको भनाई छ । ३५ ग्राम सिमल तरुलमा एक सय ३० क्यालोरी पाईने र सिमल तरुललाई भिटामिन सी र ईको राम्रो स्रोत मानिन्छ । यसमा प्रोटिन र फ्याट शून्य रहेकाले जुनसुकै स्वास्थ्य समस्या भएका मानिसले पनि सिमल तरुल खान मिल्छ ।

सिमल तरुल पोर्चुगल हँुदै १६ औ शताब्दीमा अफ्रिकन मुलुक र १७ औं शताब्दीमा भारतमा भित्रिएको अनुमान गरिएको छ । नेपालमा सिमल तरुलको खेती सन् १९६० को दशकतिर प्रवेश गरेको इतिहास छ । यो पहिलो विश्वयुद्धमा नेपालसम्म आइपुगेको विश्वास गरिन्छ । डाक्टर ओझाले आफूले अनुसन्धान गरेअनुसार इलामको चुलाचुली गाउँपालिकामा २०२४ सालमा एकजना लिम्बू वृद्धाले सिक्किमबाट नेपाल आउँदा एउटा लौरो टेकेर ल्याएकी र उक्त लौरो इलामको पेल्टिमारीस्थित आफ्नो घरमा पुगेपछि यसै फालिदिएकी थिइन् । पछि पुरिएर एक किसिमको सिमलजस्तो बिरुवा उम्रियो । अर्को वर्ष झन् ठूलो झाङ भयो । मानिसले उखेलेर हेर्दा तरुलजस्तो जरा भेटियो । खान मिल्ने हो कि होइन भनेर त्यत्तिकै फालिदिए । फेरि उम्रियो र ती महिलाको घरमा फैलियो । एक दुई वर्षपछि फेरि सिक्किमका आफन्तकोमा गएका बेला सिमल तरुलबारे छलफल भएपछि यो चिज खान मिल्ने जानकारी भयो । त्यसपछि पेल्टिमारीमा यो कन्दमूल फैलिएको इतिहास छ । हुनसक्छ, सोही स्थानबाट अन्य भागमा फैलियो ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै सहभागी सवैलाई स्वागतसहित धन्यवाद ज्ञापन गरे ।उनले सिमल तरुलको खेतीलाई बिस्तार गर्नसके मेचीनगर नगरपालिका क्षेत्रका कृषकहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतको उपस्थितिमा सम्पन्न अन्तरक्रियामा मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि (एनएमसी) का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, मेची कृषक बहुमखी सहकारी संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा, विष्णु गौतम, फाल्गुणीकुमार दाहाल, एकेन्द्र उप्रेतीलगायतले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्तीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्