हल्दीवारी,जेठ ९ ।सर्वसम्मत नेतृत्व चयन गर्नेगरी नेकपा एमाले हल्दीवारी गाउँ कमिटीको दोस्रो गाउँ अधिवेशन यही जेठ १२ र १३ गते हुँदैछ ।

गाउँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको गाउँ कमिटीले जनाएको छ । यही जेठ १२ र १३ गते हल्दीवारी २ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा आयोजना हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गर्दै गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिएका छन् ।

अधिवेशनलाई सफल बनाउनका लागि विभिन्न समितिहरु निर्माण गरिएको छ । गाउँ कमिटी अध्यक्ष सापकोटाको अध्यक्षतामा ३०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै त्रिलोचन सापकोटाकै संयोजकत्वमा ५ सदस्यीय प्रतिवेदन लेखन उपसमिति , महेशलाल मेचेको संयोजकत्वमा ७ सदस्यीय प्रचारप्रसार उपसमिति, हरिकृष्ण अधिकारीको संयोजकत्वमा ३ सदस्यीय प्रतिनिधि व्यवस्थापन उपसमिति , मोहनचन्द्र रेग्मीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक उपसमिति ,६) ख्याम न्यौपानेको संयोजकत्वमा ५१ सदस्यीय स्वयम्सेवक परिचालन उपसमिति , प्रकाश चुँडालको संयोजकत्वमा खाद्यान्न तथा स्टेज व्यवस्थापन उपसमिति, कल्पना रेग्मीको संयोजकत्वमा ५ सदस्यीय अतिथि सत्कार उपसमिति र आर.पी. शिवाकोटीको संयोजकत्वमा ८ सदस्यीय सांस्कृतिक उपसमिति गठन गरिएको छ । अधिवेशन प्रचारप्रसारका लागि जेठ ३ गते हल्दीबारी गाउँपालिकाका सबै वडाका मुख्य बजारहरुमा व्यानर पोस्टर राखी बजार सरसफाइसहित प्रचार प्रसार गरिएको थियो ।

अधिवेशनमा ३०० प्रतिनिधि सहभागी हुने जनाइएको छ । सबै वडाबाट एकैदिन जेठ ५ गते प्रतिनिधि छनोट गरिएको थियो । वडा नं.१ बाट ३७ जना, वडा नं.२ बाट ४३ जना, वडा नं.३ बाट २८ जना, वडा नं.४ बाट २३ जना वडा नं.५ बाट ९ जना प्रतिनिधि छनोट गरिएको जिल्ला कमिटी सदस्य नरेश चुँडालले बताए । उनले वडा प्रतिनिधिसंगै आयोजक ७९ जना , सल्लाहकार ७५ जना अधिवेशनमा सहभागी हुने र केहीलाई जेठ ११ गते बस्ने बैठकले मनोनयन गर्ने जानकारी दिए । अधिवेशनमा करिब १ हजार जनाको उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ ।

पहिलो अधिवेशनमा त्रिलोचन सापकोटा सर्वसम्मतबाट अध्यक्ष चयन भएका थिए । यस पटक पनि सर्वसम्मतबाटै नेतृत्व चयन हुने उनले बताए । सापकोटाले दोस्रो कार्यकालका लागि पुनः उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा पत्रकारहरुले सोधेको प्रश्नमा उनले अधिवेशनको हलले प्रस्ताव गरेको खण्डमा मात्र आफ्नो उम्मेदवारी रहने बताए । नेता कार्यकर्ताहरूको योग्यता, क्षमता, इमानदारिता र क्रियाशीलतालाई हेरेर सर्वसम्मत रुपमा नेतृत्व चयन हुने नेकपा एमाले कोशी प्रदेश सल्लाहकार सदस्य मोहनचन्द्र रेग्मीले जानकारी दिए । पार्टीभित्र रहेको अन्तर्विरोधलाई समाप्त गर्दै समग्र हल्दीबारीको विकासको खाका अधिवेशनबाट पारित गरेर आगामी मिसन ८४ मा हल्दीबारीमा एमालेले बहुमत ल्याउने दिशामा पार्टी अगाडि बढ्ने एमाले कोशी प्रदेश सदस्य सन्तलाल मेचेले बताए ।

कार्यक्रममा कोशी प्रदेश सदस्य सन्तलाल मेचे, कोशी प्रदेश सल्लाहकार मोहनचन्द्र रेग्मी, जिल्ला कमिटी सदस्यहरु नरेश चुँडाल, सागर पोर्तेल, रञ्जित मेचे, सुदिप राजवंशी लगायत गाउँ कमिटी, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू सहभागी रहेका थिए । कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव हरिकृष्ण अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्