झापा,जेठ १० । ठगी गरेको आरोपमा झापाका एक जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिकालगायतका देशमा पठाउने भन्दै ठगी गर्नेहरूमा झापा घर भई काठमाडौँ–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी कोइलाली गाउँपालिका–३ घर भई काठमाडौँ–३२ तीनकुने बस्ने ४५ वर्षीय शैलेश कुमार र कैलाली भजनी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी–१ बस्ने ३६ वर्षीय विशाल हमाल रहेका छन् ।

आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

हमालले अमेरिका पठाइदिन्छु भन्दै दुई जनाबाट १६ लाख ७० हजार रुपैयाँ, शैलेशले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट ५ लाख ४० हजार रुपैयाँ, प्रशान्तले भिजिट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक जनाबाट ८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूविरूद्ध वैदेशिक रोजगारअन्तर्गत व्यक्तिगत ठगीमा कारबाही चलाउन थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्