झापा ,जेठ १० । इलाममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

इलामको माई नगरपालिका ८ बाँदर गाउँस्थित माईखोलामा डुबेर दुई बालकको मृत्यु भएको हो । आज दिउँसो ३ः३० बजेको समयमा माई नगरपालिका ८ बाँदर गाउँस्थित माईखोलामा बालबालिकाहरु पौडी खेल्न गएकोमा दिउँसो ४ बजेसम्म घर फर्केर नआएपछि प्रहरी चौकी दानाबारी महमाईबाट प्रहरी टोली खटिगई स्थानीय र प्रहरी समेतको टोलीले खोजतलास गरेको थियो । त्यसक्रममा माई ८ राते बस्ने बिक्रम लिम्बुका छोरा वर्ष ११ का मिङसुहाङ लिम्बुलाई पानीमा फेला पारी उद्दार गरेर तत्काल उपचारको लागि स्थानीय माई अस्पतालतर्फ पठाईएको थियो । त्यहाँ प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल झापा रेफर गरी ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी सोही स्थान बस्ने राजेन्द्र आङदेम्बेका छोरा वर्ष ८–९ को किस्मन आङदेम्वेलाई खोजतलास गर्ने क्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगूले बताए । उनीहरुसँग गएका बालबालिकाहरुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको डीएसपी जवेगूले जानकारी दिए ।

बर्खायामको समय भएको कारण जुनसुकै बेला पनि खोलामा बाढी आउन सक्ने भएको हुँदा आफ्ना बालबालिकाहरुलाई नदीनाला, खोला, पोखरीहरुमा पौडी खेल्न नपठाउन र गएमा आफ्ना नानीहरुलाई रोक्न हुन जिल्ला प्रहरी कार्यालय इलामले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्