झापा, जेठ ११ । बाहुनडाँगी युथ क्लब झापा जिल्लास्तरीय बी डिभिजन लिग च्याम्पियन बनेको छ ।

हिजो भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड एफसीलाई पराजित गर्दै बाहुनडाँगी च्याम्पियन बनेको हो ।
बी डिभिजनबाट बढुवा भएका दुवै टोलीबीच फाइनल प्रतिस्पर्धा भएको थियो । जसमा बाहुनडाँगीले ३–२ गोलअन्तरले बिर्तामोडलाई पराजित गरेको हो । बिर्तामोडले सुरुवाती अग्रता लिएको थियो ।

तर, बिर्तामोडको अग्रता त्यति धेरै टिक्न सकेन । बिर्तामोडका लागि सुजन विश्वकर्माले खेलको २ मिनेटमै अग्रता दिलाएका थिए । तर, बाहुनडाँगीका रिक्की प्रधानले १४औँ मिनेटमा बराबरी गोल फर्काए ।
फेरि ३१औँ मिनेटमा नरेन्द्र खत्रीले गोल गर्दै बिर्तामोडको अग्रता दोब्बर बनाए । पहिलो हाफको थप समयमा बिर्तामोडका रोशन गुरुङले आत्मघाती गोल गर्दा बाहुनडाँगी फेरि खेलमा फर्कियो । बाहुनडाँगीका लागि निर्णायक गोल दोस्रो हाफको १४औँ मिनेटमा रिक्की प्रधानले गरे ।

उनी प्लेयर अफ दी म्याच र प्लेयर अफ दी टुर्नामेन्ट बन्दै नगद पुरस्कार पाउन सफल भए । यसैगरी, सर्वाधिक गोलकर्ता बिर्तामोडका सुजन विश्वकर्मा, उत्कृष्ट गोलरक्षक बाहुनडाँगीका अभिषेक लिम्बू र उत्कृष्ट प्रशिक्षक बाहुनडाँगीकै विमलराज पाण्डे बने ।

उपविजेतामा समेटिएको बिर्तामोडले नगद १५ हजारमा चित्त बुझायो भने च्याम्पियन टोली बाहुनडाँगीले उपाधिसहित नगद ३० हजार पायो । उनीहरुलाई पूर्व प्रदेश सांसद बृख प्रधान, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, उपाध्यक्ष मनेष दाहाल, कोषाध्यक्ष भुपेन लिम्बू, सदस्य टेकराज तिलिङ, अमिर श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्