झापा,जेठ ११ । नेपाल प्रहरीका प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ।

शुक्रबार बिहान काठमाडौंको महाराजगन्जस्थित तालिम केन्द्रमा आयोजित एक कार्यक्रमबीच १८२औं समूह दीक्षित भएको हो।

उक्त समूहमा एकैपटक १४९ जना दीक्षित भएका छन्। जसमा १३१ जना पुरूष र १८ जना महिला प्रहरी निरीक्षक छन्।

तीमध्ये प्रशिक्षार्थी प्रहरी निरीक्षक पवनकुमार परियार सर्वप्रथम भएका छन्। उनी कवाजमा पनि प्रथम भएका छन्।

त्यस्तै सगुन खड्का सर्वद्वितीय भएका छन्। उनी प्रहरी युक्त तथा कारबाहीमा समेत प्रथम भए।

आयुष ढुंगाना सर्वतृतीय र अध्ययनमा प्रथम भएका छन्। त्यसैगरी गोकुलकुमार धानुक शारिरिक व्यायाम, मस्केट्री तथा चाँदमारीमा प्रथम भएका हुन्।

उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार समेत प्रदान गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा सम्बोधन गर्दै पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्।

‘तालिममा सिकेको सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ।’

विज्ञान र प्रविधिमा भएको तीब्र विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

उनले राष्ट्रिय सुरक्षा र हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहलमार्फत् यी संरचनाहरूको निर्माण कार्यको सहजीकरण एवं निर्माण सम्पन्न गर्नका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्