मेचीनगर, जेठ ११ । अत्यधिक गर्मीका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।

मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज अपरान्ह ५.३० बजेतिर मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए ।मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अबस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । छिमेकीका अनुसार आज दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उनी घर फर्किएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीयले अत्यधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन् ।

त्यस्तै आज अपरान्ह बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला परेको छ । मागिखाई हिड्ने अन्दाजी ६०–६५ वर्षका टल्के बुढा उपनामले चिनिने व्यक्ति जयपुर बुधबारे राेडमा फेला परेको प्रहरीले जनाएको छ । गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशंका गरिएको छ । आज झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्