लक्ष्मी उप्रेती,
मेचीनगर । झापा जिल्लाका विभिन्न क्षेत्रमा काठको अवैध तस्करी बढेको छ । अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति कम रहेको ग्रामीण क्षेत्रमा तस्करी बढेको हो ।


जिल्लाका अलग अलग स्थानबाट प्रहरीले ६ सय क्युविक फिटभन्दा बढी अवैध काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लामा पछिल्लो समय काठको अवैध कारोवार बढेसंगै प्रहरी गोप्यरुपमा परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को दश महिनामा जिल्लाका अलग अलग स्थानबाट ६ सय ९१ क्युविक फिट काठ बरामद भएको छ । यसवापत ४० लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व जम्मा भएको कार्यालयले जनाएको छ । त्यसमा प्रयोग भएका ८ वटा सवारीसाधन र संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक चन्दले बताए । प्रहरीले सवैभन्दा बढी असोज महिनामा २ सय २२ क्युविक फिट काठ , त्यसमा प्रयोग भएको दुईवटा सवारीसाधन र संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । त्यसवापत १३ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । भदौंमा ३४ क्युविक फिट काठ बरामद हुँदा त्यस वापत १० लाख रुपैयाँ राजस्व जम्मा भएको कार्यालयले जनाएको छ । भदौंमा अबैधरुपमा काठको काम गर्ने १ जना पुरुष र एउटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

श्रावण महिनामा २ सय १९ क्युविक फिट काठ, २ वटा सवारीसाधन र ४ जना मानिस पक्राउ परेका थिए । बरामद काठबाट ७ लाख ७६ हजार ८० रुपैयाँ राजस्व जम्मा भएको थियो । मंसिरमा ९४ क्युविक फिट काठ, २ वटा सवारीसाधन र २ जना मानिस पक्राउ पर्दा २ लाख २४ हजार रुपैयाँ राजस्व जम्मा भएको छ । पुष महिनामा १५ क्युविक फिट काठ बरामद गर्दा ३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने चैत महिनामा ३४ क्युविक फिट काठ नियन्त्रणमा लिँदा १ लाख २७ हजार तथा बैशाख महिनामा ७३ क्युविक फिट काठ र एउटा सवारीसाधन बरामद हुँदा २ लाख १९ हजार ४ सय २० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । प्रहरीले बरामद सबै काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा पठाएको छ । जिल्लामा बेला–बेलामा तस्करी र अवैध ओसार–पसारका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । इलाम र झापा खुल्ला सिमाना भएको क्षेत्र भएकाले काठ तस्करी हुँदै आएको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।

गत वर्षमात्र सशस्त्र प्रहरीले मेचीनगरबाट ठुलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको थियो । मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको थियो । झापासँग सिमाना जोडिएको इलामका सीमावर्ती वन क्षेत्रबाट तस्करी गरी ल्याइएको अवैध काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीले बरामद गर्ने गरेका छन । अवैध काठ चोरी मुद्धामा वन ऐन २०४९ अनुसार कानुनी कारवाही गरिने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्