झापा, जेठ १३ । इलामको रोङ गाउँपालिकाले पालिकाका नागरिकलाई हरेक हिसाबले पालिकासँग जोड्ने काम गर्दै आएको छ । पालिकाले आवश्यकता अनुसार बजेट विनियोजन गरी काम गर्नका लागि नागरिकका सुझाव लिन थालेको हो ।

आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा आफ्ना नागरिकले गाउँपालिकामा के कस्तो अपेक्षा राखेका छन् भन्ने जनभावना गाउँपालिकाले समेट्ने गरी अनलाइन पोर्टलमार्फत सुझाव सङ्कलन गर्न थालेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले जानकारी दिए । “गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रम र नीति नियम कस्तो भए जनहितकारी बन्छ भनेर जनअपेक्षा सङ्कलन गरी जनप्रतिनिधि बिच छलफल गरी काम गर्न थालेका हौं,“ अध्यक्ष स्याङबोले भने । यसरी काम गर्दा स्थानीय सरकार सँधै नागरिकप्रति उत्तरदायी भएको आभास दिन सकिने अपेक्षा गाउँपालिकाले लिएको छ ।

अनलाइन पोर्टलमा गाउँपालिकाले सञ्चालन गर्नुपर्ने विकास निर्माण, लागु गर्ने नीति नियममा नागरिकले निर्धक्क सुझाव राख्न सक्ने र नागरिककै इच्छा अनुसार सुझाव कर्ताको गोपनियता कायम रहने प्रबन्ध मिलाइएको छ । नागरिकहरुले राखेको हरेक सवाललाई विषयगत समितिमा छलफल गरिने र औचित्य पुष्टि भएमा गाउँपालिकाको कार्यक्रममा समावेश गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए ।

तीनै तहका सरकार बजेट निर्माणको काममा जुटिरहेको बेला रोङ गाउँपालिकाले नेता वा जनप्रतिनिधिको कुरा मात्रै समेट्नुभन्दा मतदाताको भावना समेट्न खोज्ने प्रयास गरेको पहिलो पटक हो । अन्य पालिकामा पनि यसरी आम नागरिकका सुझाव सङ्कलन गर्ने गरीएको पाईंदैन । नागरकले पोर्टलमा स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको सुधार र विकास निर्माणमा ध्यान दिन सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्