शिवसताक्षी, जेठ १४ । पाइल्स, फिस्टुला र फिसर रोगहरुसँग प्रायः मानिसहरु परिचित छन् । किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन् । अझ सहरी परिवेशमा त अहितकर खानपानले यो रोग बढ्दो छ ।

चिकित्सकका अनुसार यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन् । धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका कारणले यो रोगले भयावह रुप लिन थालेको चिकित्सकले बताएका छन् ।
कब्जियत अर्थात् दिसा कडा हुनु नै यसको मुख्य कारण भएको दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज राजेन्द्र पोख्रेलले बताए । उनका अनुसार मलद्वारभित्र र वरिपरि रक्तसिराहरु हुन्छन् । यी रक्तसिराहरु सुन्निने, मासु पलाएझैं ठूलो हुने समस्यालाई अर्स अर्थात् पाइल्स भनिन्छ ।

‘यो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ । मलद्वारभित्र हुने अर्समा दिसा कडा हुँदा घाउ भई दुखाइरहित मलद्वारबाट रगत जाने हुन्छ । ठूलो हँुदै जाँदा दिसा बस्दा त्यो मासु बाहिर आउने, सुरुसुरुमा आफैं भित्र जाने, पछिपछि औंलाले धकेल्नुपर्ने वा बाहिर नै बसिराख्ने पनि हुन्छ,’उनले भने ।
भगन्दर अर्थात् फिस्टुला–इन–एनो भनेको दुई मुख भएको बाटो जस्तो हो, जसको भित्री मुख मलद्वारभित्र वा पक्वासयमा हुन्छ भने बाहिरी मुख मलद्वारको बाहिरी भागमा हुने गरेको उनले बताए । ‘पटक पटक संक्रमण भई बाहिरी मुखबाट पिप, रगत, दिसा आदि आउने हुन्छ । संक्रमण हुँदा अत्यन्त कष्टकर हुने र पिप निस्किसकेपछि केही दिन आराम हुने हुन्छ ।’ तर पछि फेरि संक्रमण भई यो प्रक्रिया लगातार चलिरहने कविराज पोख्रेलले बताए ।


शिवसताक्षीमा पनि यस्तो प्रकृतिको रोगको समस्या दिनहुँ बढ्दो छ । स्थानीय ११ नम्बर वडा कार्यालय र दुधे आयुर्वेदिक औषधालयको संयुक्त आयोजनामा भएको एक दिने स्वास्थ्य शिविरमा १०५ जना पाइल्स, फिस्टुला र फिसर रोगका विरामी फेला परे ।
तीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरेर उपचार गराउनु पर्ने देखिएको डा. विनोदकुमार यादवले बताए । खानपान र दैनिक व्यायाम गरे पाइल्स, फिस्टुला र फिसर निको हुने उनले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा भएको सो शिविरमा ६० हजार बराबरको औषधि पनि निःशुल्क प्रदान गरिएको थियो । झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सांसद एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन सत्र वडा नम्बर ११ का वडा अध्यक्ष बहादुर आङवोको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा नगर प्रमुख मेगाहाङ थोप्रा, पूर्व नगर उपप्रमुख भोजकुमारी नेपाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज राजेन्द्र पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्