दमक, जेठ १४ । पछिल्लो समय सहकारी क्षेत्रमा गरिँदै आएको आक्रमणविरुद्ध देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले प्रहरीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नाममा केही व्यक्तिहरु उदण्ड बन्दै ऋणी सदस्यलाई ऋण तिर्नु पर्दैन भन्दै उकास्ने, संस्थाका पदाधिकारी एवम् कर्मचारीहरुलाई धम्क्याउनेजस्ता क्रियाकलाप गरेको पाइएकोले सोका विरुद्ध एनएमसीले आज इलाका प्रहरी कार्यालय दमकमा ज्ञापनपत्र बुझाएको हो ।

जेठ ६ गते आइतबार संस्थाका सदस्यसमेत रहेका कमल गाउँपालिका वडा नं. ५ निवासी भक्तिराम ताजपुरिया समेतको संलग्नतामा अभियानको नाममा एनएमसीको दमक सेवाकेन्द्रमा उपस्थित भई धम्क्याउने र वातावरण उत्तेजित बनाउनेजस्ता कार्य गरेका कारण संस्थामा कार्यरत समिति एवम् कर्मचारीहरुले असुरक्षित महसुस गरेको र उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानुनी व्यवस्था अनुसार कार्वाही र संस्थाको कार्यसञ्चालनका क्रममा शान्ति सुरक्षाको आवश्यक व्यवस्थापनका लागि ज्ञापनपत्रमार्फत प्रहरीसमक्ष अनुरोध गरिएको छ ।

सोमबार संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी, संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती लगायत स्थानीय समिति पदाधिकारी तथा कर्मचारीको संयुक्त टोलीले ज्ञापनपत्र बुझाउँदै संस्थाले बचत तथा ऋण व्यवसायअन्तर्गत सदस्यहरुको सानोतिनो बचत संकलन गरी सदस्यहरुलाई नै कर्जा उपलब्ध गराउँदै आएकोमा विगतको कोभिड १९ को विश्वव्यापी प्रभाव, त्यसपछिको आर्थिक मन्दीजस्ता कारणले कतिपय सदस्यलाई कर्जा बुझाउन समस्या समेत परेको हुनाले सदस्यको यो अप्ठ्यारोलाई महसुस गर्दै सदस्यले बुझाउनु पर्ने हर्जानामा ५० प्रतिशतसम्म र ब्याजमा २५ प्रतिशतसम्म छुटको सुविधासमेत संस्थाले प्रदान गरेको हुँदा सहकारी क्षेत्रको उन्नयनमा यसप्रकारका गतिविधिले अवरोध सिर्जना गर्ने हुँदा सोतर्फ एनएमसीको विशेष चासो रहेको संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले बताए ।सहकारी अभियानमा सधैँ अग्रणी भूमिका निर्वाह गर्दै आएको एनएमसीले सदैव सदस्य तथा समुदायको हितका लागि काम गर्दै आएको हुनाले केही निश्चित झुण्डका कारण सहकारीकै बदनाम गर्ने गरी चालिएको पछिल्ला कदमको भत्र्सना समेत गर्ने अध्यक्ष सिवाकोटीको भनाइ छ । सदस्यलाई प्रवाह गरेको ऋण सदस्यको नै बचत भएकाले सदस्यको बचतको सुरक्षा गर्नु संस्थाको प्रमुख दायित्व रहेको जनाउँदै संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले यसप्रकारका कथित अभियानले सहकारीका सदस्यको हित नगर्ने बताए ।

तीन दशक सहकारी अभियानमार्फत विभिन्न व्यवसायका साथै सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको एनएमसीलाई राज्यले समेत पुरस्कृत गर्दै आएको र आफ्ना सदस्यको हितअनुरुप काम गरेका कारण सदस्यले एनएमसी रोज्ने गरेकाले अभियानका नाममा सदस्यलाई उकास्ने अनि समिति तथा पदाधिकारीलाई धम्क्याउने काम बन्द गर्न गर्नुपर्ने एनएमसीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको भनाइ छ ।

एनएमसीमा हाल १ लाख ६५ हजारभन्दा बढी सदस्य आबद्ध रहेका छन् भने संस्थाको कार्यक्षेत्र झापा, मोरङ र इलाम जिल्ला रहेको छ । संस्थाले हाल बचत तथा ऋण व्यवसाय, डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल मार्ट र चिया उद्योगलगायतका व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थामा प्रत्यक्ष रोजगारीमा १ हजार १४७ जना कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्