विष्णु सुब्बा,
दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका पालिकाहरुमा पार्टीको नेतृत्व चयनका लागि यतिबेला धमाधम अधिवेशन चलिरहेको छ ।

अध्यक्ष ओलीको झापा निर्वाचन क्षेत्र ५ अन्तर्गतका मुख्य पालिकाहरुमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा एमालेको पकड क्षेत्र मानिने यो क्षेत्र अन्तर्गतका पालिकाहरुमा नेतृत्व गुमाएको एमालेको यसपटकको अधिवेशनलाई पार्टीको आन्तरिक जीवन र बाहिरी समुदायले समेत निकै महत्व र चासोका साथ हेरिरहेका छन् ।

अध्यक्ष ओलीको नगर भने चिनिएको दमक नगरको यसपटकको अधिवेशनमा चौपक्षीय प्रतिस्पर्धा निकै रोचक बन्यो ।
पार्टी अध्यक्ष ओली आफैंले १० जेठमा उद्घाटन गरेको यो अधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन परिणामप्रति निकै गम्भीर अभिव्यक्ति दिएका थिए । उनको मन्तव्यको आशय पार्टीका आन्तरिक एकता कमजोर हुँदा स्थानीय सरकारको नेतृत्व गुमाउनु परेको भन्ने थियो ।

त्यसैलाई आधार मानेर अबको नेतृत्व सर्वसम्मत चयन गर्न कार्यकर्तालाई आन्तरिक निर्देशन गरेका ओलीको निर्देशन अन्ततः टिकेन । ओलीले योसँगै नेतृत्व चयनमा ढिलाई नगर्न भन्दै दिएको निर्देशनको भने प्रतिनिधिहरुले पालना गर्दै ११ जेठमै मतदानको प्रकृयामा जान सहमत देखिए ।

अधिवेशनमा चार खेमा देखियो । अझ रोचक कुरा त अध्यक्ष ओलीको चाहना अनुसार दमक नगर कमिटीको अध्यक्ष सभामुखसमेत रहेका देवराज घिमिरेका भाइ युवराज घिमिरेलाई बनाउनु पर्ने थियो ।
तर अधिवेशनमा सहभागी प्रतिनिधिहरुले भने घिमिरेलाई चार प्रतिस्पर्धीमध्ये तेस्रो स्थानमा सीमित गरिदिए । निर्वाचनमा खसेको कूल ३५८ मतमध्ये निर्वाचनमा घिमिरेले मात्र ७५ मत प्राप्त गरे ।

अध्यक्षमा युवा नेता रामप्रसाद पौडेल १६४ मत ल्याएर निर्वाचित हुँदै गर्दा अर्का प्रत्यासी कोशी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीका बहिनी ज्वाइँ भगवान बस्नेतले मात्र ७७ मत ल्याएर सभामुख घिमिरेका भाई घिमिरेलाई तेस्रो स्थानमा सीमित गरिदिए । अर्का प्रतिस्पर्धी सन्तोष दुलालले भने २५ मत ल्याएर चौथो अर्थात अन्तिम स्थानमा बस्नु पर्यो ।

निर्वाचित पदाधिकारीतर्फ उपाध्यक्षमा उर्मिला ओली, सचिवमा गिरेन्द्र चम्लागाई, उपसचिवद्वयमा झसराज ढकाल र सीता कार्की निर्वाचित भए् ।

युवा संघ दमकका पूर्व अध्यक्ष तथा युवा फाँट इञ्चार्जसमेत रहेका पौडेलले पार्टीको उपल्लो तहका ठुला नेताहरुको समर्थनबिनै धेरै कार्यकर्ताको मन र मत दुवै जितेपछि अहिले एमालेको दमकमा मात्रै जिल्ला र जिल्ला बाहिर समेत निकै ठुलो चर्चा परिचर्चा भइरहेको छ ।

यसपटकको नगर अधिवेशनमा केही जनप्रतिनिधिहरु पनि कार्यकर्ताहरुबाट अनुमोदित हुन सकेनन् । उपाध्यक्षमा निवर्तमान उपाध्यक्षसमेत रहेका दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) र सहसचिवमा उम्मेदवारी दिएका युवा संघका निवर्तमान नगर अध्यक्ष डेन्जोङ लामा पनि अधिवेशनमा पराजित हुन पुगे ।

शिवसताक्षीमा दंगाल र गौरादहमा घिमिरे

एमाले शिवसताक्षीको नगर अध्यक्षमा मेदनी दंगाल निर्वाचित भए ।
पार्टीको दोस्रो नगर अधिवेशनबाट दंगाल २५४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा बिष्णुप्रसाद प्रसाई १९५ ,सचिव लक्ष्मी गुरागाँई २४१ ,उपसचिवमा सागर राई २१० र महिला उप–सचिवमा कल्पना चम्लागाँई(कोपिला) निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

उता गौरादह जहाँ मुख्यमन्त्री कार्कीको निर्वाचन क्षेत्र पनि पर्छ । यो नगरमा भने अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीको समर्थन पाएका गजेन्द्र घिमिरे नगर अध्यक्षमा निर्वाचित भएका छन् । नेता अग्नी खरेलको समर्थन पाएका खड्ग पराजुली र अर्का गुटरहित नेता युवा संघका पूर्व केन्द्रीय सदस्य दुर्गा गौतमलाई पराजित गर्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीको क्षेत्रमै पर्ने कमल गाउँपालिकामा पनि एमालेको नेतृत्व चयन गर्न मतदानको प्रकृया अपनाइएको छ । कमल गाउँ कमिटीको अध्यक्षमा हरि ढकाल सर्वसम्मत अध्यक्ष बनेपनि अन्य पदाधिकारीहरुतर्फ मतदानको विधिबाटै नेतृत्व चयन भएको बताइएको छ ।

झापामा एमालेका गुटैगुट
अध्यक्ष ओलीको गृह जिल्ला एमालेभित्र गुटैगुट छन् । एमालेभित्र यसअघि नेता देवेन्द्र दाहाल, रोम ओली र दिपक कार्कीको समर्थनका तीन गुट रहेका भएपनि एक महिनाअघि सकिएको जिल्ला अधिवेशनमा दुई गुट अन्तिम सम्म देखिएको थियो । पालिकास्तरको अधिवेशनमा आइपुग्दा यसपटक चार वटासम्म गुट देखिएका छन् । एमालेभित्र पुराना नेताहरु पाखा लाग्दै गएको देखिन्छ भने आर्थिक चलखेल गर्न सक्ने खालका र नवप्रवेशीहरुले भागवण्डाका नाममा र अधिवेशनबाटै पनि निर्वाचित भएर आफ्नो वर्चश्व राख्दै गएका देखिन्छन् ।

जिल्लामा यसअघिको गुट छिन्नभिन्न हुँदै एउटा गुटको नेतृत्व क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता एलपी साँवाले गरेका छन भने अर्को गुटको नेतृत्व दिपक कार्कीले गर्दै पार्टी जिल्ला नेतृत्वका लागि रस्साकस्सी गरेका थिए । साँवाको समर्थन पाएका युवा नेता शिव ढुंगेल अन्तमा आएर अध्यक्षबाट ब्याक हुँदै उपाध्यक्ष बस्न राजी भए र कार्कीसहितको पार्टी मुल नेतृत्वको समर्थन पाएका प्रेम गिरी जिल्ला अध्यक्ष बनेका हुन् । यतिबेला देवेन्द्र दाहाल राष्ट्रिय सभामा संसदीय दलको नेता बनेपछि उनको लाइन भने झापामा कमजोरजस्तै देखिन्छ । झापामा अर्को गुट चलाउने युवा नेता हुन् गोविन्द थापा । यसअघि पार्टीको नगर अधिवेशनमा पराजित भएका थापा केन्द्रमा रहेर ओलीको वरिपरि घुम्दै बसेका कारण केन्द्रीय सदस्य नै मनोनित भए । यसले उनलाई झापामा आफ्नो गुट चलाउन थोरबहुत बल पुग्यो तर, यसपटकको गाउँ नगर अधिवेशनमा थापा पक्षधर उम्मेद्वारहरु धमामध कार्यकर्ता पंक्तिबाट अनुमोदित हुन नसकी पाखा लाग्दै गएको एमाले वृत्तमा चर्चा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्