झापा, जेठ १५ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनमा कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

नगर अध्यक्ष पदका लागि सुवास भट्टराई र शेखर कँडेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । भट्टराई वर्तमान नगर कमिटीका अध्यक्ष र कँडेल सचिव हुन् । त्यस्तै उपाध्यक्षमा मदन बुढाथोकी र राहुल शर्माले उम्मेदवारी दिएका छन् । बुढाथोकी बिर्तामोड ३ र शर्मा बिर्तामोड ४ का वडाध्यक्ष हुन् ।

त्यस्तै सचिव पदमा अम्बिका लिङ्देन र लक्ष्मीप्रसाद बाँस्कोटाको उम्मेदवारी परेको छ भने एक उपसचिव खुल्ला पदमा चारजनाले मनोनयन दर्ता गराएका छन् । गंगालाल राजवंशी , प्रदीपकुमार संग्रौला , प्रदीप मिलन खरेल र हिमाल कन्दङ्वा उम्मेदवार बनेका छन् । त्यस्तै उपसचिव महिला पदका लागि चन्द्रकला संग्रौला पकुवाल र डिल्लीमाया आचार्यले उम्मेदवारी दिएका छन् । अन्य सदस्य पदका लागि पनि प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन समितिले हिजो साँझ ७.३० बजे उम्मेवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । आज बिहान ११.३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि दिउँसो २ देखि ५.३० बजेसम्म मतदान कार्यक्रम राखिएको निर्वाचन संयोजक राजेन्द्र भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्