झापा,जेठ १५ । आइसिसी टी–२० विश्वकपको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ।

विश्वकप खेल्न अमेरिकामा रहेको नेपाल गएराति क्यानडाविरूद्धको खेलमा ६३ रनले पराजित भएको हो।

क्यानडाले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १२० रन बनाएर १९.३ ओभरमा अल आउट भएको हो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। उनले २० बलमा २ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै अनिल साहले १६ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए।

आशिफ शेखले २२ बलमा ३ चौका प्रहार गरी २२ रन जोडे। ओपनर कुशल भूर्तेल १० रनमा आउट भए।

अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान रोहित पौडेल १ रनमा, सन्दीप जोरा ६ रनमा, गूल्शन झा शून्यमा, सोमपाल कामी ४ रनमा र अभिनाष बोहोरा शून्यमा आउट हुँदा करण केसी ५ रन बनाएर नट आउट रहे।

पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १८३ रन बनाएको थियो।

त्यसक्रममा रवीन्द्रपल सिंह १७ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४१ रन बनाएर नट आउट रहे।

त्यसअघि निकोलश किर्टनले अर्धशत प्रहार गरे। उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। नवनीत धलिवलले ३७ बलमा ४ चौका प्रहार गरी ३२ रन बनाए।

एरोन जोनसनले १० रन र परगत सिंहले १३ रन बनाए। डिलोन हेलिङगर १३ रन बनाएर नट आउट रहँदा अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि अभिनाश बोहोराले दुई विकेट लिँदा करन केसी, सोपपाल कामी, गुल्सन झा, ललित राजवंशी र सागर ढकालले १÷१ विकेट लिए।

नेपालले दोस्रो अभ्यास खेल अमेरिकासँग बिहिबार खेल्नेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्