झापा, जेठ १५ । निजी क्षेत्रका डेरी उद्योगले घिउ जापान निर्यात गर्न थालेका छन् । कोशी प्रदेशमा रहेको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिले उत्पादन गरिरहेको घिउ जापान निर्यात गर्न सुरु गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए ।

दुग्धजन्य पदार्थको मौज्दात धेरै भएको र त्यसको बिक्रीका लागि भइरहेको प्रयासस्वरूप नेपालबाट जापानका लागि घिउ निर्यात भएको उनले बताए । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिजले घिउ जापान निर्यात गर्न सुरु गरेको उनले जानकारी दिए ।

सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिज जापान घिउ निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बनेको बताउँदै उनले अन्य डेरी उद्योगले पनि जापानलगायत अन्य देशमा आफ्नो दुग्धजन्य पदार्थ निर्यातका लागि पहल गरिरहेको जानकारी दिए ।

पछिल्लो समय मौज्दात रहेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानलाई भुक्तानी दिन समस्या भइरहेको अवस्थामा नेपाल डेरी एसोसिएसनले दुग्धजन्य पदार्थ निर्यातका लागि जापान, बङ्गलादेश, श्रीलङ्का, तिब्बत, भुटान, भारतलगायत गएर पहल गरेको थियो ।

यो कार्यलाई निरन्तरता दिन उद्योगलाई अनुरोध गर्दै मन्त्रालयको सधैँ साथ र सहयोग रहने कोशी प्रदेशका उद्योग मन्त्रालयका सचिव लेखनाथ दाहालले बताए । उद्योग स्थलमै आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सचिव लेखनाथ दाहाललगायतका अधिकारीको उपस्थिति थियो ।

उद्योगले जापानको एक निजी कम्पनीसँग एक वर्षमा ५० हजार केजी घिउ बिक्री गर्ने सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेको उद्योग सञ्चालक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य मनोजकुमार यादवले बताए । सम्झौता अनुसार उद्योगले पहिलो चरणमा ५० लाख रुपियाँ बराबरको पाँच हजार केजी घिउसहित चिउरा, चिया र मह जापान पठाउने छ ।

उद्योगले घिउ जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक केजी घिउमा १२० रुपियाँ अनुदान दिने घोषणा गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिने कुरा बताए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले वार्षिक तीन अर्ब निर्यात हुने कोशी प्रदेशको मौलिक उत्पादन छुर्पी उत्पादनलाई राज्यले प्रोत्साहन गर्न र प्याटर्न राइट लिन पहल गरिदिन आग्रह गरे । २०७६ सालमा स्थापना भएको उद्योगले पाँच वर्षपछि घिउ जापान निर्यात गर्न सफल भएको छ । उद्योगले उत्पादन गरिरहेको दुग्धजन्य पदार्थमा कोशी प्रदेश सरकारको अनुदान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्