झापा, जेठ १६ । नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनमा सुवास भट्टराईको प्यानलले जीत हासिल गर्ने देखिएको छ ।
गएराति शुरु भएर अहिले जारी मतगणनामा भट्टराई नेतृत्वको प्यानलले जीत हासिल गर्ने देखिएको हो । पदाधिकारीको जारी मतगणनामा अध्यक्षका उम्मेदवार भट्टराईले अग्रता लिएका छन् ।
केहीवेर अघि ३०० मत गणना हुँदासम्म भट्टराईले १६० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी शेखर कँडेलले १२६ मत पाएका छन् । भट्टराई दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न लागेका हुन् । अध्यक्षमा वर्तमान नगर कमिटीका अध्यक्ष भट्टराई र सचिव कँडेलले प्रतिष्पर्धा गरेका थिए । त्यस्तै उपाध्यक्षमा भट्टराई प्यानलका मदन बुढाथोकीले १९२ मत ल्याउँदा उनका प्रतिष्पर्धी कँडेल प्यानलका राहुल शर्माले ९१ मत प्राप्त गरेका छन् । बुढाथोकी बिर्तामोड ३ र शर्मा बिर्तामोड ४ का वडाध्यक्ष हुन् ।
त्यस्तै खुल्ला सचिव पदमा भट्टराई प्यानलकै अम्बिका लिङ्देन अगाडि छन् । लिङ्देनले १५० मत ल्याउँदा कँडेल प्यानलका लक्ष्मीप्रसाद बाँस्कोटाले १२५ मत पाएका छन् । त्यस्तै खुल्ला उपसचिव पदमा भट्टराई प्यानलका गंगालाल राजवंशीले १४० मत ल्याउँदा कँडेल प्यानलका हिमाल कन्दङ्वाले १३२ मत पाएका छन् ।
त्यस्तै महिला उपसचिवमा पनि भट्टराई प्यानलकै डिल्लीमाया आचार्यले १५६ मत ल्याउँदा चन्द्रकला संग्रौला पकुवालले १११ मत पाएकी छन् । त्यस्तै लेखा कमिटीको उपाध्यक्षमा भट्टराई प्यानलका दिनेश अधिकारी २११ मतसहित निर्वाचित भएका छन् भने कँडेल प्यानलका किशोरकुमार पौडेल पराजित भएका छन् । बिर्तामोड २ का वडाध्यक्ष पौडेलले १८८ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सुमन त्रिखत्रीले मात्र ३५ मत पाएका छन् ।
त्यस्तै लेखा कमिटीको सचिवमा भट्टराई प्यानलकै हिमाल मैनाली २२२ मत ल्याएर विजयी भएका छन् भने कँडेल प्यानलका उनका प्रतिष्पर्धी ढाँचाराम कडरियाले १९९ मत ल्याएका छन् । त्यस्तै लेखा कमिटी सदस्यहरुमा विष्णुप्रसाद आचार्य २८८ , लक्ष्मी रोका २७९ र सुजन दाहाल २६८ मतसहित निर्वाचित भएका छन् । पराजित राजन घतानीले २०३ मत पाएका छन् । कुल ५०४ मतदाता रहेको अधिवेशनमा ४८८ जनाले मतदान गरेका थिए ।