झापा, जेठ १६ । नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनमा सुवास भट्टराईको सिंगो प्यानलले नै जीत हासिल गरेको छ ।

गएराति शुरु भएर केहीबेर अघि सम्पन्न मतगणनामा भट्टराई नेतृत्वको प्यानलले नै जीत हासिल गरेको हो । अध्यक्षका उम्मेदवार भट्टराईले २६८ मत ल्याएर जीत हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी शेखर कँडेलले १९९ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा भट्टराई प्यानलका मदन बुढाथोकीले ३२३ मत ल्याएर विजय हासिल गर्दा उनका प्रतिष्पर्धी कँडेल प्यानलका राहुल शर्माले १३४ मत प्राप्त गरेका छन् । बुढाथोकी बिर्तामोड ३ र शर्मा बिर्तामोड ४ का वडाध्यक्ष हुन् ।

त्यस्तै खुल्ला सचिव पदमा भट्टराई प्यानलकै अम्बिका लिङ्देन विजयी भएका छन् । लिङ्देनले २३८ मत ल्याउँदा कँडेल प्यानलका लक्ष्मीप्रसाद बाँस्कोटाले २१० मत पाएका छन् । त्यस्तै खुल्ला उपसचिव पदमा भट्टराई प्यानलका गंगालाल राजवंशीले २२२ मत ल्याएर जितिरहँदा कँडेल प्यानलका हिमाल कन्दङ्वाले २२० मत पाएका छन् । त्यस्तै महिला उपसचिवमा पनि भट्टराई प्यानलकै डिल्लीमाया आचार्यले २५४मतसहित निर्वाचित हुँदा कँडेल प्यानलकी चन्द्रकला संग्रौला पकुवालले १७६ मत पाएकी छन् । त्यस्तै लेखा कमिटीको उपाध्यक्षमा भट्टराई प्यानलका दिनेश अधिकारी २११ मतसहित निर्वाचित भएका छन् भने कँडेल प्यानलका किशोरकुमार पौडेल पराजित भएका छन् । बिर्तामोड २ का वडाध्यक्ष पौडेलले १८८ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सुमन त्रिखत्रीले मात्र ३५ मत पाएका छन् ।

त्यस्तै लेखा कमिटीको सचिवमा भट्टराई प्यानलकै हिमाल मैनाली २२२ मत ल्याएर विजयी भएका छन् भने कँडेल प्यानलका उनका प्रतिष्पर्धी ढाँचाराम कडरियाले १९९ मत ल्याएका छन् । त्यस्तै लेखा कमिटी सदस्यहरुमा विष्णुप्रसाद आचार्य २८८ , लक्ष्मी रोका २७९ र सुजन दाहाल २६८ मतसहित निर्वाचित भएका छन् । पराजित राजन घतानीले २०३ मत पाएका छन् । कुल ५०४ मतदाता रहेको अधिवेशनमा ४८८ जनाले मतदान गरेका थिए । भट्टराई दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन् । अध्यक्षमा वर्तमान नगर कमिटीका अध्यक्ष भट्टराई र सचिव कँडेलले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्