झापा,जेठ १६ । टेम्पोमा राखेर लागूऔषध ओसारपसार गर्दै गरेका तीन जनलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। भारतको जोगवनीबाट लागूऔषध लिएर आएको को २ ह ८३९० नम्बरको टेम्पोलाई पनि प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित खाकी बाब मन्दिरअगाडिबाट नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले टेम्पो नियन्त्रणमा लिएर चालक विराटनगर–६ का १९ वर्षीय छोटु सहनी, टेम्पोमा सवार विराटनगर–९ का ३० वर्षीय सञ्जय साह र विराटनगर–१६ का ३० वर्षीय पशुपति केवटलाई पक्राउ गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार जोगवनीबाट आउँदै गरेको टेम्पोलाई शंका लागेपछि मंगलबार दिउँसो साढे ३ बजेतिर नियन्त्रणमा लिएर खानतलासी गरिएको थियो। त्यस क्रममा टेम्पोको पछाडि सिटमुनि लुकाएर राखिएको लागूऔषध नाइट्राभेट १ सय ७० ट्याब्लेट र प्यारोनिक्स स्पास १ सय २८ ट्याब्लेट बरामद भएको उनले जानकारी दिए।

पक्राउ परेकामध्ये टेम्पो चालक छोटुको साथबाट १२ हजार नेपाली रूपैयाँसमेत बरामद भएको डीएसपी बस्नेतले बताए। पक्राउ परेकाहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्