विनोद सापकोटा,

माईधार । झापामा मानिसले समेत पिउनका लागि आकाशबाट पानी पर्नुपर्छ भन्दा अपत्यारिलो लाग्न सक्छ। तर यो सत्य कुरा हो। शिवसताक्षी नगरपालिका वडा नम्बर १० को सैनिक बस्तीका ९० घर परिवारले पानी पिउनका लागि आकाशबाट पानी पर्नुपर्छ । अनिमात्र आवश्यकता अनुसार उनीहरुले पानी खान पाउँछन् ।

पानी माग्दा दही

‘दिउँसो कोही कतैबाट पाहुना आएर पानी माग्नुभयो भने दिने उपाय हुँदैन । बरु दही नै दिने गरेका छौं,’ स्थानीय यसै भन्छन् ‘हुने खानेले बजारबाट जार र मिनरल वाटरको पानी ल्याएर राख्नुभएको छ । विशेष आगन्तुकले पानी पाउनु हुन्छ । नत्र, हुँदा खानेको घरमा मात्र होइन सैनिक बस्तीमा पिउनका लागि पानी पाईदैन ।
सैनिक बस्तीमा पिउने पानीको समस्या २०५२ सालदेखि जस्ताको त्यस्तै छ। स्थानीय भन्छन्, ‘सांसद, मेयर र वडाध्यक्षको जीवनशैली हामीले दिएका भोटले परिवर्तन भयो । तर, हाम्रौ आधारभूत आवश्यकता पिउने पानीको व्यवस्था हुन सकेन ।’ स्थानीय पुष्प संग्रौला भन्छन् ,‘ यो देशमा नेताका लागि मात्र अधिकार बन्यो । जनताका लागि बन्न सकेको रहेनछ ।’

पिउने पानीका लागि आकाशकै भर

पिउनका लागि सैनिक बस्तीका ९० वटा घरमा आकाशबाटै पानी पर्नुपर्छ । आकाशबाट पानी नपरेको दिन भने कन्काई नहरको पानी स्थानीयले उपभोग गर्छन् । कतिपयले नहरमा मोटर पम्प राखेर पाईपको सहायताले घरैमा पानी ल्याउँछन् । कतिपयले डोकोमा घैला, जर्किनलगायतका भाडावर्तनमा पानी ल्याएर भण्डारण गर्छन् अनि आवश्यकता अनुसार उपभोग गर्छन् । संग्रौलाले अगाडि भने,‘२९ वर्षदेखि यहाँका स्थानीयको समस्या जस्ताको त्यस्तै छ । यो गाउँ काकाकुल नै बनेको छ ।’

नहरको पानीले छालाको रोग

नहरबाट घरसम्म आएको पानीलाई स्थानीयले घरेलु विधि अपनाएर फिल्टर गर्ने गरेका छन् । त्यो पानी खाना पकाउनदेखि चिया, लुगाफाटा धुन, नुहाउन, पशु चौपाया, पंछी अथवा पानी जे जे कामका लागि चाहिन्छ, त्यसमा प्रयोग गर्छन् । स्थानीय रनमाया ओलीका अनुसार नहरको पानी उपभोग गर्दा छालाको रोग देखा पर्न थालेको छ ।
‘छालामा खटिराजस्तो सानो फोका देखा पर्छ । फुट्छ अनि शरीर पुरै चिलाउँछ,’ ओलीले भनिन् ‘टाउको दु्ख्छ, चक्कर लाग्दा यो सबै पानी शुद्धिकरण हुन नसकेर हो कि भन्ने लाग्छ ।
नहरको पानी धमिलो आउन थालेपछि लुगा धुन र नुहाउन समस्या हुन थालेको स्थानीयले बताएका छन् । पूर्वी पहाडमा पानी परेपछि कनकाई नहरमा धमिलो पानी आउने गरेको छ ।

पानी पर्दा खुशी हुने गाउँ

आकाश धमिलिएका दिन घरमा भएका सबै भाडावर्तनहरू पानी थाप्नका लागि गाउँमै तयार गरिन्छ । पानी पर्ने भयो भनेर स्थानीय खुसी हुन्छन्। आकाशबाट पानी पर्यो भने बलेसीको पानीमा कति दिनदेखि ननुहाएको शरीर मज्जाले नुहाउँछन् । पानी पिउन र नुहाउन पनि आकाशकै भर पर्नुपर्ने यहाँको समस्याका बारेमा वडा अध्यक्षदेखि सांसदसम्म बेखबर छैनन् । तर, इच्छा शक्ति नहुँदा भने वर्षौदेखिको समस्या समाधान हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

आफ्नै कर्मलाई धिक्कार
आकाशबाट झरेको पानी घरको छानामा झरेपछि जस्ताको मगराको सहायताले त्यो पानीलाई ट्याङ्कीमा जम्मा गरिन्छ । अनि फिल्टर गरेर स्थानीयले उपभोग गर्ने गरेका छन्। टिभी, रेडियो, पत्रपत्रिका, फेसबुकबाट यस्तो समस्या हिमाली जिल्लाका विकट गाउँमा मात्र सुन्ने र देख्ने गरेकी सरस्वती तिम्सिनाले आफ्नै घरमा आफ्नै कर्मलाई धिक्कार्छिन् । ‘मान्छेले पानी पिउन समेत नपाउने सरकारको यो कस्तो व्यवस्था हो,’? उनले प्रश्न गरिन् ।

पानी देखाएर भोट माग्छन्
‘२०५२ पछिका हरेक निर्वाचनमा राजनीतिक दलका नेताले यहीको खानेपानीको समस्या समाधान गर्ने भनेर भाषण गरे । हामीले भोट पनि दियौ । तर उनीहरुको भाषण झुटा आश्वासन मात्र रहेछ,’ पिउने पानीको समस्याका बारेमा यहाँका नेता जागरुक नभए आन्दोलन गर्ने स्थानीयले धम्की दिएका छन् ।
निर्वाचनताका भोट माग्न जाँदा उम्मेदवारले त्यही पानीको विषयलाई उठाएर मत पाउने गरेका थिए । मत पाउने नेता र जिताउने जनता चुनावताका एकै ठाउँमा थिए । अहिले जनता र नेताको दूरी यही समस्याले टाढा हुँदै गरेको छ । निर्वाचन जितेपछि उनीहरूले खानेपानीको समस्यालाई कानमा तेल हालेझैँ गरेर सुनेको नसुने गरेको आरोप स्थानीयले लगाएका छन् । संग्रौलाले भने ‘शिवसताक्षी नगरपालिकाको मेयर साहबले त फोन समेत रिसिभ गर्नुहुन्न । पटक पटक गर्यो भने बल्ल फोन रिसिव हुन्छ र कुरै नसकी फोन काटिदिनु हुन्छ । हामीले के बुझ्ने ?’

ट्युवेल चलाउँदा दाँत झर्छ
पानीको सतह सुक्दै जाँदा स्थानीयले गाडेका ट्युवेलमा पानीको थोपा आउँदैन। ४० देखि ८० फिटसम्मको गहिराईमा टुयुवेल गाडिएको छ। पानीका लागि मरिहत्ते गरेर ट्युवेल चलाए पनि हातमा ठेला उठ्छ तर जमिनमुनिको पानी माथि उठ्न सक्दैन। कतिपयको ट्युवेलको हेन्डिल फुत्केर चिउडो, दाँत र टाउको फुटेको छ । स्थानीय ताला सोरेनको निधार र छोरीको दाँत टु्युवेलको हेन्डिलले भाँचिदिएको छ ।

बालीनाली पनि सुक्यो
माघको दोस्रो सातादेखि असारको भेलको मुल नफुटुन्जेलसम्म यहाँका स्थानीयलाई पिउने पानीको समस्या हुन्छ । खडेरीले पानीको सतह सुकेपछि सैनिक बस्तीका बालीनाली पनि सर्लक्क सुकेका छन् । सुकेका बाली चौपायालाई घाँसको रुपमा काटेर दिने गरेको स्थानीयले बताए । उनले भने, ‘मकै लगाएका थियौ । काम नदिने गरि सुक्यो ।’
सैनिक बस्तीको पाँचसय मिटर वरपर पिउने पानीको व्यवस्था छ । नुनमाटी दोमुखा खानेपानीको वडा स्तरको खानेपानी योजनाले सैनिक बस्ती ५ सय मिटर दूरी बाहिरका बस्तीमा पानीको सुविधा दिएको छ । उक्त आयोजनाका अध्यक्ष चन्द्रबहादुर बस्नेतले स्थानीयले पाइपको व्यवस्था गरे पानीको सुविधा उपलब्ध गराउन सकिने बताएका थिए । तर, स्थानीयसंग पाईप किन्ने पैसा छैन ।

सांसद साँवाको फेरि प्रतिवद्धता
झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद एलपी साँवाले वडा नम्बर १० का दुई वटा बस्तीमा आफ्नै पहलमा पिउने पानीको व्यवस्था गरिएको बताए । तर, सैनिक बस्तीमा पानीको समस्या यथावत रहेको उनले स्वीकार गरे । ‘यो वर्ष केही गर्न सकिएन । अर्को वर्ष पानीको सुविधा सैनिक बस्तीका स्थानीयले पाउने छन्,’उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्