झापा,जेठ १६ । बिर्तामोड–४ कालिकानगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ ।
बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गंगा चौधरी र अर्का एकजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । त्यसबारे जानकारी दिन भोलि जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरिने जनाइएको छ । ‘ भोलि जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्छौ’ झापा प्रहरी प्रमुख एसपी मिलन केसीले भने ।
गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिकानगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो । हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिएका थिए । कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतको दावी छ । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए ।
बैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिएपनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो ।