मेचीनगर,जेठ १६ । मंगलबार मध्यरातमा पानीसहित आएको हावाहुरीले झापा मेचीनगरका तीनवटा उद्योगमा अढाई करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ ।

मेचीनगर १० प्रगति टोल बस्ने ख्याम प्रसाईले संचालन गरेको शिवम् प्लाई उद्योगको ६ ट्रक बराबरको भेनियर पत्ता, सोहि उद्योगको छानो, भान्सा घरको छानोलगायत अन्दाजी मूल्य डेढ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै सोही ठाउँ रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै डिल्लीराम श्रेष्ठले सञ्चालन गरेको सो भेनियर उद्योगको ७ ट्रक (ट्रकमा लोड गर्दा हुने परिमाण) भेनियर पत्ता, कामदार बस्ने कटेज, पिलिङ मेसिन, चाइनिज मेसिनसहित उद्योगको दुवैपट्टिको टिनको छानामा क्षति पुगेको छ ।
त्यस्तै, मेचीनगर–१० लालपानीमा रहेको सिद्धविनायक भेनियर उद्योगको १ ट्रक (ट्रकमा लोड गर्दा हुने परिमाण) भेनियर पत्ता, उद्योगको टिनको बेरा र छाना उडाउँदा १० लाख रुपैयाँ क्षति भएको सञ्चालक श्याम न्यौपानेले बताए ।

त्यस्तै मेचीनगर १० प्रगति टोल बस्ने यामप्रसाद आचार्यको घरको टिनको छानो उडाउँदा अन्दाजी मूल्य रु. ५० हजार बराबरको क्षति भएको छ भने मेदनी खनालको घरको टिनको छानो उडाई अन्दाजी मूल्य रु. ५० हजार, राधिका राजवंशीको टिनको छानो र टिनको वेरा भएको पसल अन्दाजी मूल्य रु. १० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय धुलावारीमा कार्यरत प्रहरी कार्यालय सहयोगी अमित सुर्खेतीले कार्यालय परिसरभन्दा बाहिर संचालन गरेको टिनको छानो बाँसको बेरा भएको खाजा घरको छानो उडाइ अन्दाजी मूल्य रु ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीले केही फुसका घरहरु उडाएको छ भने बिजुलीका पोल र रुखहरु ढलेका छन् । बिजुलीको पोल ढल्दा विद्युत आपूर्ति अवरुद्ध भएको छ । मेचीनगर ७ देखि ८ नम्बरको हाइवे एरियामा विद्युत प्रसारणका लागि गाडिएका ६० वटा नयाँ पोलहरु भाचिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

त्यस्तै, मकै, तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ । पूर्वपश्चिम राजमार्ग उत्तरमा हावाहुरीले क्षति गरेको जनाइएको छ ।प्रहरीले झापामा हावाहुरीका कारण २ करोड ६२ लाख ८० हजार बराबरको क्षति भएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्