बिर्तामोड, जेठ १६ । नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

एमालेको भ्रातृ संगठन युवा संघ बिर्तामोडका पूर्व अध्यक्ष डिल्लीराम सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड ५ का अध्यक्ष शेरबहादुर मादेन, राप्रपाकै योगराज गुरुङ र अनिल गुरुङ कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले पार्टी सदस्यता प्रदान गरेका थिए । उनले विभिन्न पार्टीमा छरिएर रहेका राजनैतिक कार्यकर्तालाई लोकतन्त्रको शितल छहारीमा गोलबद्ध हुन आव्हान गरे । नेपाली कांग्रेस बिर्तामोड ५ नं वडा समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता हुमागाईले आजको विश्व राजनीतिमा लोकतन्त्रको बिकल्पमा कुनै राजनीतिक प्रणाली नदेखिएको बताए ।

नेका बिर्तामोड ५ का सभापति दिपक मेन्याङबोको सभापतित्वमा भएको सो कार्यक्रममा महासमिति सदस्य राधा सुब्बा, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका बिर्तामोड नगर अध्यक्ष आनन्द गुरुङ, नवप्रवेशीका तर्फबाट शेरबहादुर मादेनलगायतले देशको उन्नति–प्रगतिका लागि कांग्रेसको लोकतान्त्रिक नीति र कार्यक्रम नै अपरिहार्य भएको भनाई राखेका थिए । वडा उपसभापति खगेन्द्र प्रसाईले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन वडा सचिव राजेश नेपालले गरेका थिए । कार्यक्रममा बिर्तामोड नगर उपसभापति सूर्य कन्दङ्वा, ५ नं वडा अध्यक्ष रोहित प्रसाईं, पार्टीका ६ न. वडा सभापति आशिष बन, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका २ नं. क्षेत्रीय सभापति लवकुमार चौधरीलगायतले नवप्रवेशीलाई अबिर र खदाले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्