झापा, जेठ १७ । बिर्तामोड–४ कालिकानगर निवासी ६७ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा पक्राउ परेकाहरुलाई आज दिउँसो १ बजे प्रहरीले सार्वजनिक गर्दैछ ।

जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा बुधवार प्रहरीले चारजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिकानगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो । हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिएका थिए । कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतको दावी छ । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए ।

बैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिएपनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्