झापा,जेठ १७ । आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ सुरू भएको छ। विराटनगरमा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मेलाको उद्घाटन गरेका हुन्।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा मेला बिहीबार र शुक्रबार दुई दिन चल्नेछ। सरकारी र निजी क्षेत्रबीचको साझेदारी बढाउँदै रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको मेलामा आवश्यक सीप र क्षमता विकासका विषयमा पनि जानकारी गराइने छ । रोजगारीसँग जोडिएका समस्या र गुनासा सुनेर समाधानका प्रयास हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

मेलाको मुख्य उद्देश्य रोजगारदाता र कामको खोजीमा रहेका युवालाई एउटै मञ्चमा मिलाउनु, युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्नु रहेको बताइएको छ । मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ कमर्स,नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ,होटल संघ नेपाल लगायतका ५० वटा स्टल रहने छ ।

औद्योगिक नगरीका रुपमा चिनिएको विराटनगरको स्थित सिटी पार्टी प्यालेसमा जेठ १७ र १८ गते मेला आयोजना हुने छ । मेलामा सात सय जनाको आवेदन आउने र कम्तिमा दुई सय ५० जनाले रोजगारी पाउने अनुमान आयोजकको छ ।

विराटनगरबाट सुरु भएको सो मेला देशका सातै प्रदेशमा दुई–दुई दिन सञ्चालन हुने बताइएको छ । बागमती प्रदेशमा जेठ ३० गते मेलाको समापन हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्