बिर्तामोड , जेठ १८ । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रमा सुविधासम्पन्न इन्डोर महशुल केन्द्र निर्माण गरिएको छ ।

जसको हिजो एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख उमेशकुमार झाले उद्घाटन गरे । महशुल बुझाउन आउने ग्राहकहरुलाई कुनै पनि समस्या नहोस् भन्ने उद्धेश्यले सुविधासम्पन्न इन्डोर महशुल केन्द्र निर्माण गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार शाहले बताए । महशुल संकलन केन्द्रमा ग्राहकहरुका लागि तातो र चिसो पानी पिउने व्यवस्था , पंखा , मोबाइल चार्ज , टेलिभिजन , वाइफाईलगायतका सुविधा उपलव्ध गराइएको उनले जानकारी दिए । टोकन प्रणालीको व्यवस्था रहेको अनारमनी वितरण केन्द्रको महशुल केन्द्रमा पाँचवटा काउन्टर रहेका छन् ।

महशुल केन्द्रको उद्घाटन गर्दै प्राधिकरणका कोशी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख झाले ग्राहकलाई सेवा प्रवाहमा सहजता दिनु नै सेवा प्रदायक निकायको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए । अनारमनी वितरण केन्द्रका प्रमुख शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक कार्यालयका लेखा प्रमुख महादेव भट्टराई , भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाई , अनारमनी वितरण केन्द्रका आय प्रमुख गणेश पौडेल , कर्मचारी युनियनका दुर्गाप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । लेखा अधिकृत विकास दाहालले स्वागत मनतव्य राखेको कार्यक्रमको संचालन प्रशासन प्रमुख प्रकाश विकले गरेका थिए । त्यस अवसरमा ज्येष्ठ ग्राहक प्रेमसागर सापकोटालाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

अनारमनी वितरण केन्द्रअन्तर्गत करिव ९६ हजार ग्राहक रहेका छन् । त्यसमध्ये ५५ प्रतिशतले अनलाइन र ४५ प्रतिशतले महशुल केन्द्रमा आई महशुल भुक्तानी गर्ने गरेका छन् । तर, ठूलो रकम महशुल केन्द्रमै आएर बुझाउने गरेको वितरण केन्द्रले जनाएको छ । कुल महशुलको ६५ प्रतिशत काउन्टरबाट र ३५ प्रतिशत अनलाइनबाट संकलन हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्