विनोद सापकोटा,
झापा, जेठ १८ ।शिवसताक्षी १० सैनिक बस्तीका स्थानीयलाई पिउने पानीको प्रवन्ध हुने भएको छ । उपभोक्ताले पिउने पानीका लागि इच्छा देखाए उनीहरुको निवेदन दर्ता भएको १ घण्टामा पिउने पानीको व्यवस्था गर्न वडा कार्यालय र स्थानीय उपभोक्ता समिति तयार भएका हुन् ।

स्थानीय तथा राष्ट्रिय स्तरका संचारमाध्यममा सैनिक बस्तीका स्थानीयले पिउने पानी नपाएको विषयमा समाचार प्रकाशन भएपछि सरोकारवाला निकायले चासो देखाएका हुन् । वडा अध्यक्ष हर्कधन सिगुले पिउने पानीको समस्याको समाधान गर्न वडा कार्यालय तयार रहेको बताए । ‘प्राविधिक कारणले उपभोक्ता समितिले सो बस्तीमा पानी नदिएको हुनसक्छ । तर, स्थानीयले बोलेजस्तो नेपाल सरकारका तीनवटै तहले पानी नदिएको भन्ने चाहिँ गलत हो ’ उनले भने, ‘नेताले पानी दिने होइन । प्रकृया पुग्यो र उपभोक्ताले चासो देखाए सरकारी तथा गैरसरकारी निकायले घर–घरमा पानी पुर्याउँछन् । यसमा समस्या के छ र ?’

स्थानीय खानेपानी उपभोक्ता समिति र समस्यामा रहेका उपभोक्तासंग आवश्यक छलफलपश्चात् पिउने पानीको अविलम्ब व्यवस्था गरिने वडा अध्यक्ष सिगुले बताए । उनले भने, ‘उपभोक्ताले पहिलो नम्बरमा इ्रच्छा देखाउनु पर्यो । मानिसको पहिलो आधारभूत आवश्यकताभित्र पर्ने पिउने पानीको व्यवस्था मिलाउन वडा कार्यालयलाई कुनै भारी छैन ।’
सैनिक बस्तीको करिव ५० मिटर दूरीमा सैनिकबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पानी संचालनमा छ । त्यो पानी स्थानीयले उपभोग गर्न सक्ने सो उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर कार्कीले बताए । ‘समितिमा निवेदन दिएको १ घण्टामा घर–घरमा पानी हामी पुर्याउँछौं ।’ उनले भने ।

सो बस्ती सैनिक बस्ती नामले परिचित भएपनि तत्कालीन सरकारले त्यहाँ सुकुम्बासी ल्याएर राखेको थियो । कनकाई नदीमा आएको बाढीले घरखेत बगाउँदा ०५२ सालदेखिका पीडित त्यहाँ ल्याएर राखिएका छन् ।स्थानीय बसेको जग्गा नेपाल सरकारको हो ।

स्थानीयका अनुसार ९० घर सुकुम्बासी छन् । तीमध्येका केही घरमा सैनिक बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा संचालित खानेपानी पुगेको छ । स्थानीय धनकुमार ढकाल भन्छन्, ‘ केही परिवार अति विपन्न छन् । ती परिवारको भान्सामा कसरी पिउने पानी पुर्याउनु पर्छ भन्ने विकल्प खोजिदैछ ।’

स्थानीय ताला सोरेनले भनिन, ‘पच्चिस हजार सदस्यता शुल्क हामी सुकुम्बासीले कसरी भुक्तानी गर्न सक्छौं ? घरमा पानी लैजानका लागि पाईप लगायतका सामग्री खरिद गर्ने पैसा नहुँदा पिउने पानीबाट बञ्चित हुनुपरेको हो । अब २५ हजार मैले कहाँबाट ल्याउनु ? सरकारले कि मर भन्नु पर्यो कि मार्नुपर्यो ।’

े ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्