झापा,जेठ १८ । विद्यालयमा अध्ययनरत भद्रपुरका किशोरीहरूलाई जीवन उपयोगी सीपसम्बन्धी आत्मरक्षा तालिम दिइएको छ । भद्रपुर नगरपालिकाले तीन चरणमा नगरका १६५ जना किशोरीहरूलाई आत्मरक्षा तालिम दिएको जनाइएको छ ।

सामाजिक विकास शाखाले भद्रपुर– २ स्थित राधाकृष्ण मन्दिरको हलमा ५० जनालाई, भद्रपुर– ५ स्थित भद्रपुर माविमा ५० जनालाई र भद्रपुर– ८ स्थित मेची रङ्गशालाको कभर्ड हलमा ६५ जनालाई आत्मरक्षा तालिम दिएका थिए । कक्षा ८, ९ र १० मा अध्ययनरत सामुदायिक र निजी विद्यालयका छात्राहरू तालिममा सहभागी भएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन । नगरपालिकाले समुदाय–प्रहरी साझेदारीअन्तर्गत किशोरीहरूलाई लक्षित जनचेतनामूलक प्रशिक्षण प्रदान गरिएको उनले बताइन् ।

भद्रपुर नगरपालिकाको सामाजिक विकास शाखाले संयोजन गरेको तालिममा प्रहरी चौकी जलथलका प्रमुख प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले लागु औषध, घरेलु हिंसा, महिला तथा बालबालिकामाथि हुने अपराधका विषयमा जनचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।

त्यस्तै, भद्रपुर नगरपालिका सामाजिक विकास शाखाका सञ्जु कोइराला, कराते प्रशिक्षक सौरभ प्रधान, आत्मरक्षा प्रशिक्षक सम्झना सारु मगर र विद्यालय नर्स रविना राजवंशीले समेत सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेका थिए । सो तालिममा सहभागीहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरूले प्रमाणपत्र वितरण समेत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्