झापा, जेठ १८ । झापाको भद्रपुरमा आज बिहान एक युवतीमाथि धारिलो हतियार प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।


आज बिहान १०ः ४५ बजे एसएस निकेतनकी विद्यार्थी श्रेया राईमाथि अभिषेक कर्णले धारिलो हतियार दाउ प्रहार गरेका थिए । भद्रपुर नगरपालिका ९ शान्ति बस्ने १७ वर्षीया श्रेया राईलाई स्कुल बसबाट ओर्लिनेबित्तिकै भद्रपुर नगरपालिका ६ भानु चौक बस्ने १८ वर्षीय अभिषेक कर्णले दाउ प्रहार गरेका थिए ।

दाउ प्रहार गरी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी घोडामाराबाट प्रहरी बरीष्ठ हवल्दार भिमबहादुर वि.क.को कमाण्डमा खटिएको दुई जनाको टोलीले कर्णलाई दाउसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ। घाइते श्रेयालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगि उपचार भइरहेकोमा थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टाउको र दुबै हातमा चोट लागेकी घाइतेको अवस्था तत्काल मध्यम रहेको छ । कर्णले हतियार प्रहार गर्नुको कारण खुल्न नसकेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्