झापा,जेठ १८ । प्रेम सम्बन्धमा खटपट भएका कारण झापामा अर्को अप्रिय घटना भएको छ ।

दमकमा एक छात्रामाथि गोली प्रहारको घटना भएको एक महिना नबित्दै भद्रपुरमा शुक्रवार प्रेम सम्बन्धमा खटपट भएकै कारण अर्की छात्रामाथि पनि धारिलो हतियार प्रहार भएको छ । भद्रपुरकी एक युवतीमाथि धारिलो हतियार (दाउ) प्रहार गरिएको हो । भद्रपुर नगरपालिका –९ घोडामारास्थित शान्तिटोल निवासी १७ वर्षीया श्रेया राईमाथि भद्रपुर– ६ भानुभोक निवासी १८ वर्षीय अभिषेक कर्णले शुक्रबार बिहान पौने ११ बजे दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । दाउ प्रहारबाट श्रेयाको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ । उनको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । घोडामारा प्रहरी चौकीले दाउ प्रहार गर्ने अभिषेकलाई घटनास्थलबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । प्रहरीका अनुसार श्रेया एसएस निकेतन अंग्रेजी माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।

विद्यालयबाट कक्षा ११ को वार्षिक परीक्षा दिएर श्रेया स्कुल बस चढेर घर फर्किएकी थिइन् । बसबाट ओर्लिएर घरतर्फ हिडेर गइरहेकी श्रेयामाथि अभिषेकले बाटो छेकेर एक्कासि दाउ प्रहार गरेका थिए । पक्राउ परेका अभिषेकले श्रेया आफ्नी प्रेमिका भएको र प्रेम सम्बन्धमा विवाद बढेपछि दाउ प्रहार गरेको प्रहरीसमक्ष बयान दिएको जनाइएको छ ।

अभिषेक पनि एसएस निकेतनमा पढ्थे । कक्षा १२ को परीक्षा दिएर उनी घर बसिरहेका थिए । यस्तो घटना घटेपछि एसएस निकेतनका शिक्षक तथा विद्यार्थीहरू चकित परेका छन् । ‘दुवै विद्यार्थी सरल स्वभावका हुन्,’ विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले भने, ‘अभिषेकले कल्पना गर्न नसक्ने घटना घटायो ।’ श्रेयामाथि दाउ प्रहार गर्ने घटना दुःखद भएको उनको भनाई छ ।

यसअघि गत बैशाख २१ गते दमकमा परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार भएको थियो । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारी (निशा) माथि गोली प्रहार भएको थियो । दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी एनिकामाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठाननजिकै गोली प्रहार भएको हो। उनीमाथि सिरहा घर भएका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

एनिकाले केही समयअघि यादवविरुद्ध उदयपुर जिल्ला अदालतमा बलात्कार र मानव बेचबिखनको मुद्दा दायर गरेको अनुसन्धानको क्रममा खुलेको छ । उनै यादवले एनिकामाथि गोली प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आरोपी यादवलाई खोजी गरिरहेको प्रहरीले बताएपनि अहिलेसम्म फेला पार्न सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्