लक्ष्मी उप्रेती
मेचीनगर । कृषि, पशुपंछी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दूधको भुक्तानीको समस्या विगतदेखिकै भएपनि किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् ।

२४ औँ विश्व दूध दिवसका अवसरमा शनिबार राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा झापाको मेचीनगर— १४ स्थित दुहागढीमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दैं मन्त्री साहले दुग्ध किसानले समयमै दूधको रकम प्राप्त गर्न नसकेको गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताइन् ।

मन्त्री साहले भनिन्, ‘यो समस्या अहिलेको होइन विगतदेखिकै समस्या हो । यो अहिले भर्खरको हो भन्ने सोचबाट पछि हट्नुपर्छ ।’ हरेक किसानका आ—आफ्नै समस्या छन् भन्दैं यस्ता समस्या समाधानमा सरकारको मुख मात्र ताक्न नहुने उनको तर्क थियो । ‘जबसम्म किसान र सरकार ती समस्याको समाधानमा सामूहिक रुपमा एकसाथ अघि बढ्दैनौं , तबसम्म समस्याको निराकरण नहुने हुँदा सबै एक ठाउँमा उभिएर आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ’उनले भनिन् । यस क्षेत्रले भोग्नुपरेका समस्याहरुको पहिचान गर्ने र ती समस्याहरुको दीर्घकालीन समाधानमा पहल गर्ने वातावरण बनाउन पनि सरकारसहित सरोकारवालाहरु लाग्न जरुरी रहेको मन्त्री साहको भनाई थियो ।

मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने भन्दै उनले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औंल्याइन् । दुधबाट बनेका बस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उनले बताइन् । कुल गार्हस्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ । हाल नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेको छ । कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना राईले दूध तथा दुग्धजन्य पदार्थको प्रवर्द्धनमा सरकार निरन्तर सक्रिय रहेको दावी गरिन् । देशको अर्थतन्त्रमा कृषिक्षेत्रले पुरयाएको योगदान कसैले पनि भुल्न नहुने भन्दैं राज्यमन्त्री राईले परम्परागत कृषि कर्म छाडेर प्रविधिमैत्री कृषितर्फ लाग्न सुझाव दिइन् । नेपाल दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डाक्टर बालख चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले कोशी प्रदेशमा दूध उत्पादन, खपत, प्रशोधन भण्डारण आदिको अवस्था, समस्या र संभावनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री साहलाई बुझाएका थिए । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहाल, दुग्ध विकास संस्थानका महाप्रवन्धक राजेन्द्रप्रसाद अधिकारी, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य सुमित केडिया, दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष अम्बरबहादुर कुँवर, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोसिएसनका अध्यक्ष सियाराम प्रसाद सिंह, केन्द्रीय पशुपंछी मत्स्य सहकारी संघ नेपालका अध्यक्ष बाबुराम अधिकारीलगायतले यो दिवसले गुणस्तरीय दूध सेवनका लागि जनचेतना फैलाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा बृद्धि गर्न प्रचार प्रसार गर्नेलगायतका काममा टेवा पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहर भवन ललितपुरको आयोजना, पशु सेवा विभाग, राष्ट्रिय पशुपंछी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन केन्द्र हरिहर भवन ललितपुर, दुग्ध विकास संस्थान लैनचौर काठमाण्डौं, केन्द्रीय दुग्ध सहकारी संघ लि काठमाण्डौं, नेपाल डेरी एशोसिएसन काठमाण्डौं, डेरी उद्योग संघ काठमाण्डौ, केन्द्रीय पशुपंछी मत्स्य सहकारी संघ लि काठमाण्डौ र नेपाल डेरी साइन्स एशोसिएसन काठमाण्डौंको संयुक्त आयोजनमा कार्यक्रम भएको हो ।स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि पशु सेवा विभागका उपनिर्देशक डाक्टर विनयकुमार कर्णले प्रकाश पारेका थिए ।

पत्रकारदेखि किसानसम्म सम्मानित

कार्यक्रममा कृषिक्षेत्रमा कलम चलाउने पत्रकार,उत्कृष्ट किसानदेखि उद्योगीसम्मलाई एउटै मञ्चमा सम्मान गरिएको थियो । कृषिक्षेत्रमा सञ्चारमाध्यमबाट पुर्याएको योगदानको मूल्याङ्कन गर्दै आर्थिक अभियानका पत्रकार प्रशान्त खड्कालाई सम्मान गरिएको थियो । यसैगरी, डेरी विज्ञका रुपमा प्राध्यापक डाक्टर भेषराज भण्डारी, दुग्ध उद्योगमा मेचीनगरको एनएमसी डेरी उद्योग, काभ्रेको गल्फु विनायक डेरी उद्योग, पशुपालनतर्फ तेह्रथुम छथरको सिंहदेवी पशुपालन सहकारी संस्था लि., उत्कृष्ट किसानका रुपमा झापाका राजकुमार तामाङ, मोरङका विज्ञान बस्नेत, सहकारी संस्थातर्फ पिठुवा दुग्ध सहकारी संस्था रत्ननगर चितवन, कामधेनु दुग्ध विकास सहकारी संस्था सुनसरीलाई सम्मान गरिएको थियो ।
हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाउने गरिन्छ । यो दिवस सन् २००१ बाट मनाउन शुरु गरिएको भएपनि नेपालमा भने सन् २०११ बाट मनाउन शुरु गरिएको हो । विश्व खाद्य संगठनले संसारभर दूधको प्रवर्द्धन गर्ने र दूधको महत्व बुझाउने लक्ष्यसहित दिवस मनाउन शुरु गरेको हो । काठमाण्डौं बाहिर पहिलो पटक नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीअन्तर्गत सञ्चालित एनएमसी एग्रो फार्ममा यो दिवस मनाईएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्