झापा,जेठ २० । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण गर्दा बद्नियतपूर्ण निर्णय गरेपछि उत्पन्न विवाद मिलाउन नसक्दा आसन्न निर्वाचन अनिश्चित भएको छ ।
जिल्ला शाखाले पठाएको नाममा प्रदेश समिति र केन्द्रले बद्नियत राखेर सदस्यता कायम गरेपछि उत्पन्न विवाद मिलाउन नसक्दा जेठ २६ गते हुने भनिएको निर्वाचन अनिश्चित भएकोे हो ।

तोकिएकै समयमा निर्वाचन हुन्छ भन्ने आधार नदेखिएपछि महासंघमा आबद्ध विभिन्न संगठनले चुनावी गतिविधि समेत गर्न हिच्किचाइरहेका छन् ।
केन्द्रले तय गरेको मापदण्ड अनुसार स्थलगत अध्ययनपश्चात् छानविन गरी देशैभरिका शाखाले पठाएका नाम बिचबाटै कटाएर सकृय पत्रकारको नाम हटाउने र निष्कृय पत्रकारको नाम समेट्ने काम महासंघ नेतृत्वले गरेपछि देशभरिका अधिकांश शाखाबाट विवाद आउँदा मिलाउन नसकेर नेतृत्व मोवाइल स्वीचअफ गरेर बसेको छ ।

सवैभन्दा बढी कोशी प्रदेशमा देखिएको सदस्यता विवाद मिलाउन महासंघ अध्यक्ष तथा महासचिव असफल भएपछि तोकिएको समयमा निर्वाचन नहुने प्रष्ट देखिएको छ ।
साविकका मेची, कोशी र सगरमाथा अञ्चलभित्र रहेका झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर लगायत जिल्लाबाट सिफारिस भएर आएका नाम अनुमोदन नगरी निष्कृय पत्रकारको नाम थप्ने तथा सकृय पत्रकारिता गरिरहेकाहरूको नाम हटाउने काम प्रदेश समिति र केन्द्रले गरेपछि सदस्यता विवाद उत्कर्षमा पुगेको हो ।

नेपाल पत्रकार महासंघ झापा शाखाले ६४ जना पत्रकार झापामा निष्कृय रहेको प्रमाणसहित छानविन प्रतिवेदन पठाएको थियो । कोशी प्रदेश समितिले झापा शाखाको सिफारिसविपरित सकृय पत्रकारिता गरिरहेका १५ जना पत्रकारको नाम कटाएर पत्रकारिता छोडेर होटल व्यवसायमा संलग्न, व्यापार व्यवसाय गरिरहेका, नगरपालिका, गाउँपालिकामा कार्यालय सहयोगी लगायत काममा लागेका, ठेक्कापट्टा गर्ने, सहकारीका व्यवस्थापक, वजार प्रतिनिधि, निजी विद्यालयका सञ्चालक, दुनोट, पाउरोटीको उत्पादक, विभिन्न विमा कम्पनीका कर्मचारी, राष्ट्रिय अनुसन्धान लगायत सुरक्षा निकायका जासुसी गर्ने जस्ता पेशाका व्यक्तिलाई समेत सदस्यता कायम गरेपछि महासंघको शुद्धीकरण अभियान हचुवाका भरमा गरिएको प्रष्ट भएको छ ।

यस्तै नयाँ सदस्यता प्रदान गर्दा समेत महासंघले जिल्लाको सिफारिसविपरित निर्णय गरेर गैरपत्रकारलाई सदस्यता प्रदान गरेको पाइएको छ । झापा शाखाले प्रकृया पुगेका ३६ जना नयाँ सदस्यलाई सिफारिस गरेको भए पनि महासंघले प्रकृयामै नआएका दुई जना सदस्य थपेर नयाँ सदस्यता प्रदान गरेको पाइएको हो । झापा शाखामा आवेदन नै नदिएका ती व्यक्तिलाई कोशी प्रदेश समितिले बिच बाटोबाट प्रवेश गराई सदस्यता प्रदान गरेको हो । यी दुवै सदस्य झापामा कुन निकायमा पत्रकारिता गर्छन् भन्ने खुल्न सकेको छैन ।

विपुल पोखरेलले नेतृत्व लिएपछि नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा रहेको भद्रगोल अवस्था अन्त्य गर्दै व्यवसायिक पत्रकारको संगठन बनाउने उद्घोष गरेका थिए तर राजनीतिक चालबाजीबाट यस पटक पनि महासंघको सही गति र उद्देश्यले सदस्यता शुद्धीकरण हुन सकेन ।

प्रेस युनियन र प्रेस संगठनको संयुक्त नेतृत्व रहेको महासंघमा बाहिर रहेको प्रेस चौतारीले घुमाउन सफल भएको सदस्यता छनौटको परिणामले देखाएको छ । अध्यक्ष युनियन तथा महासचिव संगठनको रहेको वर्तमान समितिमा सदस्यता छनौट गर्न महासचिवलाई पूर्ण जिम्मेवारी दिएपछि महासचिवको टोलीलाई चौतारीले घुमाएर युनियनलाई नै क्षति हुने गरी सदस्यता छनौट गर्दा युनियन बल्ल झस्केको अवस्था छ । यो पार्टी पत्रकारिताको परिणाम हो । निष्पक्ष पत्रकारिताको अवधारणामा महासंघ नेतृत्व हिडिरहेको भए गैरपत्रकार संरक्षित हुने अनि वास्तविक पत्रकारिता गरिरहेका महासंघभन्दा बाहिर रहनु पर्ने स्थिति आउने थिएन ।

महासंघ नेतृत्वले हरेक जिल्लाबाट आएको नामलाई अनुमोदन गरेर बिचबाट या अन्यत्रबाट आउने नाम अस्वीकार गरेको भए यति धेरै भद्रगोल अवस्था हुने थिएन । विना आधार नाम काट्ने वा नाम थप्ने काम प्रदेश समिति र केन्द्रीय नेतृत्वबाटै भएका कारण महासंघको सदस्यता विवाद मिल्न नसक्ने अवस्थामा पुगेको प्रष्ट छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्