झापा, जेठ २२ । बाढीको उच्च जोखिममा रहेको झापामा विपद व्यवस्थापनको एकीकृत अभ्यास गरिएको छ ।

नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको हो । आज झापाको मेचीनगर–१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापनसम्बन्धी बृहत डेमोस्ट्रेसन गरिएको थियो ।

अरिदमन गणमा नेपाली सेनाले संचालन गर्दै आइरहेको अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत बिषयगत प्रस्तुतिकरण तथा गोलबन्ध अभ्यास (टीटीएक्स) संचालन भएको थियो।उक्त कार्यक्रममा आधारित रहेर निचाझोडा सिमसार क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी नेपाली सेना अरिदमन गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला रेडक्रस झापाले संयुक्त रुपमा डेमोष्ट्रेशन गरेका हुन् । उक्त अभ्यासमा बाढीको डुबानमा परेका गाउँबस्तीका स्थानीयहरुलाई तत्काल उद्धार गरेपश्चात् प्राथमिक उपचार गरी अस्पतालसम्म लैजाने, स्थानीय साधन र स्रोतहरु प्रयोग गरी डुबानमा परेका व्यक्तिहरुलाई उद्धारको निमित्त प्रयोग गर्ने साधनहरु प्रयोगबाट उद्धार गर्ने, Under Water Rescue, Highland Rope Rescue, घिर्नी र रोपको सहायताबाट खोचमा परेका व्यक्तिहरुलाई उद्धार गर्ने र जिल्ला रेडक्रस सोसाईटीबाट घाइते तथा बिरामीहरुलाई प्राथमिक उपचार गर्ने र राहत वितरण तथा पीडितहरुलाई व्यवस्थापन गर्ने सम्बन्धी अभ्यास प्रदर्शन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा आयोजित उक्त अभ्यास करिब दुई घण्टा चलेको थियो ।


विपदपश्चातको खोज उद्धार र पुनस्र्थापनामा आधारित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र जनसमुदालाई विपदसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उक्त अभ्यास गरिएको गणका प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समिति झापाका अध्यक्ष बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नम्बर २१ बाहिनीका बाहिनीपति सहायक रथी युवधीरमान सिंह अधिकारी, अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायतको उपस्थिति थियो ।

यसैबीच, अभ्यास कार्यक्रमपश्चात् गणले आयोजना गरेको बृक्षरोपण कार्यक्रममा धुपीलगायत फलफूलका बिरुवा रोपिएको छ । गणले उपलब्ध गराएको लिची, जामुन, अमला, गुलमोहरलगायतका २३६ वटा बिरुवा रोपिएको हो । कार्यक्रमका अतिथि तथा अन्य सहभागीहरुले ती बिरुवा रोपेका थिए ।

झापा जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ६ पालिका छन्। गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेका हुन् ।
मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा छन्।

यो वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार जिल्लामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरिएको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्यचौकीलगायतका २५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ ।

बाढीका कारण जिल्लामा प्रत्येक वर्ष ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको तथ्यांकअनुसार सात वर्षमा बाढीकै कारण ६० जनाको मृत्यु भएको छ। २०७३ देखि २०७९ सम्ममा ६० जनाको मृत्यु र ६ जना बेपत्ता भएको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्