झापा,जेठ २३ । भद्रपुर नगरपालिका ३ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । २०७४ देखि भाडाको घरबाट वडाको कामकाज गर्दै आएको वडा कार्यालयले भच्चकवस्तीमा निर्मित भवनको उद्घाटन गरिएपछि मंगलबारदेखि सोही भवनबाट वडावासीलाई सेवा दिन थालेको हो ।

वडा कार्यालय परिसरमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल तथा उपप्रमुख राधा कार्कीले संयुक्त रुपमा ब्यानर खोलेर भवनको उद्घाटन गरेका थिए ।

वडाध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षतामा आयोजित सोही समारोहका बीच वडा कार्यालय भवनका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरू ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापा मगर, निलमकुमार राई, कुबेर गुरुङ, भीमप्रसाद राई र केबिर लिम्बूलाई सम्मान गरिएको थियो ।

समारोहमा उपस्थित जग्गादाताहरूलाई समारोहका प्रमुख अतिथि नगरप्रमुख पोख्रेल, उपप्रमुख कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

जग्गादाहरुले वडा कार्यालयका लागि पाँच कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि नेपाल सरकारको १ करोड २४ लाख रुपैयाँ लागतमा दुई तले भवन निर्माण भएको थियो । भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री सो भवनको भूइँतलामा प्रशासनिक कामकाजका लागि पाँच वटा कोठा र पहिलो तलामा सुविधा सम्पन्न एसीयुक्त सभा हल र स्टोर रुम रहेको वडा सचिव रुद्रप्रसाद घिमिरेले जानकारी दिए । उनले वडा परिसरको सुरक्षाका लागि १६ वटा सिसी क्यामेरा पनि जडान गरिएको बताए ।
पर्याप्त क्षेत्रसहितको सुविधा सम्पन्न भवनबाट वडावासीलाई सेवा प्रदान गर्न निकै सहज हुने वडाध्यक्ष कार्कीले बताए । ‘निकै साँगुरो भाडाको घरबाट सेवा प्रवाह त्यति सहज थिएन’, वडाध्यक्ष कार्की भन्छन्न् ‘अब सहज रुपमा छिटो–छरितो ढङ्गबाट सेवा दिन सकिन्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्