झापा,जेठ २३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति द्रौपडी मुर्मुलाई बुधबार दिउँसो भेटेर प्रधानमन्त्री मोदीले राजीनामा बुझाएको भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएको छ।

मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका हुन्। राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छन्।

भारतमा जुन ८ तारिखसम्म मोदी नै कामचलाउ प्रधानमन्त्री रहनेछन्। जुन ८ मा त्यहाँ भारतमा नयाँ सरकार गठन हुनेछ।

भारतको लोकसभा निर्वाचनको मतपरिणाम मंगलबार सार्वजनिक भएको थियो।

मतपरिणाम आएसँगै त्यहाँ नयाँ सरकार गठनका लागि दुई गठबन्धनबीच छलफल भइरहेको छ।

भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउन सकेको छैन। तर भाजपा नेतृत्वको एनडिएले २९३ सिट जितेको छ।

बहुमत र सरकार गठनका लागि २७२ सिट आवश्यक हुन्छ। विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ।

सरकार गठनका लागि एनडिए गठबन्धनका प्रमुख नेताहरू विहारका मुख्यमन्त्री नितिशकुमार र तेलेगु देसम पार्टीका प्रमुख चन्द्रबाबु नायडू बुधबार दिल्ली पुगेका छन्। उनीहरू एनडिएसँग छलफल गर्नका लागि दिल्ली पुगेका हुन्।

नितिश कुमारको जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी मोदी सरकारका लागि प्रमुख सहयात्री हुनसक्ने देखिएका छन्। जनता दलले १२ र तेलेगु देसमले १६ सिट जितेको छ।

यद्यपि नितिशको राजनीतिक पृष्ठभूमिका कारण सरकार कसरी बन्छ भन्ने टुंगो लागिसकेको छैन।

विपक्षी गठबन्धन इन्डियामा सामेल दलका प्रमुखहरू समाजवादी पार्टीका प्रमुख अखिलेश यादवलगायत पनि छलफलका लागि दिल्ली पुगेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्