झापा, जेठ २३ । होटल सङ्घ नेपाल (हान) ले चिनियाँ पर्यटक भित्र्याउन र चिनियाँ पर्यटन व्यवसायीबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यले चीनको राजधानी बेइजिङमा नेपाल पवर्धनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

बेइजिङस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गरेका छन् । हानका महासचिव तथा प्रवक्ता साजन शाक्यका अनुसार नेपाल आउने पर्यटकको दोस्रो ठुलो बजार चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित पवर्धनात्मक कार्यक्रम आयोजना गरिएको हो ।

उनले भने, “नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीसँगको सहकार्य फलदायी हुने अपेक्षासहित हानको टोलीले बेइजिङ र छेन्दुमा प्रर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिरहेको हो ।”

बेइजिङमा आयोजना गरिएको कार्यक्रममा हानका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन उद्योग तथा उपलब्ध सुविधाबारे जानकारी दिँदै नेपाल चीन सम्बन्ध र पर्यटन, नेपालका रैथाने परिकारबारे जानकारी दिएको उनले बताए ।

कार्यक्रमले चीनका पर्यटन व्यवसायीबिच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिएको उनको भनाइ छ । उक्त कार्यक्रममा नेपाली भूमिबाट सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको छ । हानका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटलहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलले चाइना होटल सङ्घसँग दुईपक्षीय पर्यटन प्रवर्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्