झापा, जेठ २४ । सुनसरीमा केही दिनयता दैनिक जसो चलेको हावाहुरीले केरा र मकै खेतीमा ठूलो क्षती पुगेको छ।

जिल्ला सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा मंगबारदेखि बिहीबार दिउँसोसम्म सात पटक आएको ठूलो हावाहुरीले केरा र मकै खेतीमा ठूलो नोक्सान गरेको हो। इनरुवा, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको छ।
आउँदो हप्तादेखि एक महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरुवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताए ।

इनरुवामा मात्रै सय विघा क्षेत्रफलमा केरा खेती भइरहेकोमा अधिकांश केरालाई हावाहुरीले नोक्सान गरेको उनले बताए । मेहताका अनुसार करिब एक करोड रूपियाँ बराबरको केरा खेती ढलेर नोक्सान भएको छ।

जिल्लामा ६ सय ५० बढी हेक्टर अर्थात् एक हजार बिघामा केरा खेती भइहरेको छ। इनरुवा ९ का किसान जसलाल यादवले बगानको केरा दुई हप्ता दिनपछि बिक्री हुने अवस्थामा रहेकोले अब ढलेपछि अलि समस्या भएको बताए ।

ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब लाखौ रुपियाँ खर्च गर्नुपर्ने हुनसक्ने यादवको भनाइ छ। अर्का किसान श्याम यादवले हावाहुरीले केरा खेतीमा गरेको यो नोक्सानी अहिलेसम्म कै ठूलो भएको दाबी गरे ।

उता सयौं विघामा लगाएको मकै बालीसमेत हावाहुरी वर्षाले खेतमै ढलेकाले भित्र्याउन समस्या भएको किसान दिपेन्द्र यादवले बताए । अधियाबटियामा खेत लिएर मकै खेती लगाएका किसान राजाराम यादवले भित्र्याउने बेलामा अत्याधिक हावाहुरी र वर्षाले मकै खेतमै ढलेकाले भित्र्याउन समस्या भएको गुनासो गरे । जिल्लामा झण्डै १२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुदै आएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्