झापा, जेठ २५ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन् ।

आज बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।

१०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश प्रमुख भण्डारीसमक्ष पेस गरिएको दाबीमा सिंहलाई ५५ सांसदको समर्थन रहेको जनाइएको छ । सिंहलाई एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसदको समर्थन रहेको छ ।

राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुङ्ग्याएपछि उनले आज बिहानै दाबी पेस गरेका हुन्।
भागबण्डा अनुसार एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन, नेकपा एसले कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने भएको छ।

यस्तै १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए। नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी तरन्नुम गृहमन्त्री बन्ने पक्का भएको छ।

जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण र एक विना विभागीय मन्त्री पाउने भएको छ। मधेशमा ११ वटा मन्त्रालय रहेका छन्।

प्रदेशप्रमुख भण्डारीले आज विहान १० बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकी थिइन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत नपाउँदा सरकार ढलेको थियो । उनले ५० मत पाए भने विपक्षमा ५३ मत परेको थियो । प्रदेशसभामा १ सय ३ जना सांसद उपस्थित थिए ।

मुख्यमन्त्री यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र राप्रपाका १ जना सांसदले विश्वासको मत दिएका थिए । विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ जनाले मतदान गरेका थिए । ०७९ पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त जसपा नेपालका संसदीय दलका नेता यादवले आफ्नो १७ महिना कार्यकालमा बिताए ।

आज बिहान १० बजे सबै दलबाट मन्त्रीको टुंगो लगाउने गरी संसदीय दलको बैठक बोलाइएको छ। आजै मन्त्रीको टुंगो लाग्ने र उनीहरुको मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख भण्डारीले सपथ ग्रहण गराउनेछिन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्