झापा,जेठ २५ । बिर्तामोड नगरपालिका–९ स्थित डाँडागाउँमा रहेको कोसेली अचार उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले अचार हाल्ने ड्रम र तौल लिने मेसिन हस्तान्तरण गरेको हो । उक्त सामग्री नगर प्रमुख पवित्रा महतारा प्रसाईँले उद्योगका अध्यक्ष शान्ता रिजाल लगायतलाई हस्तान्तरण गरेकी थिइन् ।

तीन सय लिटर क्षमताका ५ वटा र पाँच सय लिटर क्षमताका २ वटा गरी ७ वटा प्लास्टिकका ड्रम र १ थान तौल मेसिन हस्तान्तरण गरिएको हो । संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले उद्यमी महिलाहरूले सञ्चालन गरेको यस उद्योगलाई थप व्यावसायिक बन्नका लागि प्रेरित गर्दै सामाग्री हस्तान्तरण गरेको बताइन् ।

कोसेली अचार उद्योग स्थानीय ६ जना महिलाहरूले सञ्चालन गर्दै आएका छन् । यस उद्योगमा आँप, कागती, अकबरे खुर्सानी, अचार पेस्ट लगायत उत्पादन हुँदै आएको छ । कार्यक्रममा शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारी, कार्यपालिका सदस्य सङ्गीता सिवा लगायत महिला उद्यमीहरूको सहभागिता रहेको थियो । नगरपालिकाले यसअघि जेठ १६ गते मात्र सोही कार्यक्रम अन्तर्गत १५ जना महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्