झापा, जेठ २५ । भोजपुर जिल्लाको विभिन्न स्थानमा हुन सक्ने विपद्का घटनाहरूको उद्धारका लागि विपद् पूर्व तयारी डेमोस्ट्रेसन ‘अभ्यास मनसुन–४’ प्रदर्शन गरिएको छ ।

शुक्रबार भोजपुर जिल्लाको सदरमुकामस्थित स्थानीय टुँडिखेलमा बाढी पहिरो, आगलागीमा परी विस्थापित परिवारहरुकोे खोज, उद्धार तथा राहत, प्राथमिक उपचार, स्थानीय तथा सरोकारवालाको भूमिका, जिम्मेवारी, सवारी दुर्घटना न्यूनीकरणका उपायलगायतका बारेमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भोजपुर नगरपालिका, जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटीलगायत विपद्सँग सम्बद्ध निकायको भूमिकालाई प्रदर्शन गरिएको थियो ।

विपद् पूर्व तयारी अभ्यास प्रदर्शनले स्थानीयहरूलाई आफ्नो तथा आफ्नो नजिकै हुने मानवसृजीत एवम् प्राकृतिक विपद्लाई सामना, नियन्त्रण, न्यूनीकरण गर्न सचेतना विकास गरेको कार्यक्रमका प्रमुख अतिथि तथा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशनमा भएको डेमोस्ट्रसनमा जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, भोजपुर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र जिल्ला अस्पताल, विद्योदय मावि, सगरमाथा अङ्ग्रेजी बोर्डिङ, जनसेवा आधारभूत विद्यालयका शिक्षक, विद्यार्थीलगायत विपद्सँग सरोकार राख्ने सम्पूर्ण निकायहरूको सहभागिता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्