झापा, जेठ २५ । इटहरीको सोल्टी होटेलमा ‘इष्टर्न ट्राभल मार्ट २०२४’ भव्यताका साथ उद्घाटन भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पर्यटन प्रवद्र्धनमा खुलेर लागिपर्ने उद्घोष गरेका छन् । नेपाल पर्यटन बोर्डको आयोजनामा सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री र मेयरको प्रतिबद्धतासहित साथ पाएका पर्यटन व्यवसायी उत्साहित भए । भारतबाट आएका पर्यटनकर्मीहरू आयोजकको आतिथ्यले खुसी देखिन्थे । कोरोना महामारीपछि काँकडभिट्टा नाकामा अवरोध भएका कारण बङ्गलादेशका पर्यटन उद्यमी भने सहभागी हुन सकेनन् । नेपालको विभिन्न पर्यटकीय क्षेत्रका ख्यातिप्राप्त पर्यटन व्यवसायीहरूले मार्टमा सहभागिता जनाएका छन् । जेठ २५ देखि २७ गते आइतबारसम्म कोशी प्रदेशको लागि ट्राभल्स मार्ट संचालन हुने भएको छ । विदेशी तथा स्वदेशी पर्यटन उद्यमी तथा अभियन्तालाई प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलको भ्रमण गराउँदै लगानीको वातावरण सृजना गर्ने पर्यटकीय प्रचार गर्ने उद्देश्य राखिएको छ ।

मुख्यतः भारतको पश्चिम बङ्गाल, बिहार तथा सिक्किमका पर्यटकलाई मध्यनजर गर्दै मार्टको आयोजना गरिएको हो । मार्टको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले समाजवादको यात्रा तय गर्न राष्ट्रिय पुँजीको आवश्यकता पर्ने र राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन निर्विकल्प क्षेत्र भएको बताए ।

मुख्यमन्त्री कार्कीले सरकार एक्लैको लगानी र पहलले मात्रै पर्यटन क्षेत्रको विकास नहुने बताए। त्यसका लागि निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनले बताए। उनले पर्यटन क्षेत्रको विकासका निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताए। तीन दिने मार्टमा सहभागी धनकुटा, तेह्रथुम, इलाम, झापा, सुनसरी, पाँचथर लगायत कोशी प्रदेशका पर्यटन व्यवसायी र पोखरा,चितवन र काठमाडौंलगायत अन्य प्रदेशका व्यवसायीबीच हुने व्यापारिक सम्झौताले कोशी प्रदेशको पर्यटन प्रवद्र्धन हुनुका साथै यहाँको पर्यटन क्षेत्रको विश्वबजारीकरण हुने उनले विश्वास व्यक्त गरे।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जानकारी दिँदै उनले यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले आफ्नो हैसियतभन्दा माथि नै उठेर लगानी गर्ने बताए। ‘प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ। यसका लागि विभिन्न रणनीतिक योजनाहरू अघि सारिएका छन्। प्रदेश सरकारले आउँदो वर्षको प्रारम्भमै कानुन बनाएर पर्यटन विकास बोर्डको गठन गर्नेछ,’ उनले भने।

सरकारले २०८२ लाई कोशी भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको बताउँदै उनले वैशाखमा अन्तर्राष्ट्रिय गुराँस महोत्सवको आयोजना गरेर यसको सुरुवात गरिने बताए । यो प्रयास सफल भएको खण्डमा यसपछिका हरेक वर्ष कोशी भ्रमण र पर्यटन वर्ष हुने विश्वास उनले बताए।

पर्यटनको लागि पूर्वाधार विकास गर्न सरकार लागिपरिरहेको बताउँदै उनले योजनाबद्ध हिसाबमा काम गर्न पर्यटन व्यवसायीलाई आग्रह गरे । कोशी प्रदेशका धार्मिक तथा सांस्कृतिक पर्यटकीय सम्भावनालाई उजागर गरेर अगाडी बढ्न सरकार तयार रहेको उनको भनाइ थियो ।
विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरू बिच प्रत्यक्ष संवादमार्फत व्यवसायिक समझदारी बनाउने वातावरण सृजना गर्न लागिएको मार्टका संयोजक भविशकुमार श्रेष्ठले बताए । स्वदेश तथा विदेशका व्यवसायीहरूलाई प्याकेजमा सम्झौता गराउने र पर्यटन प्रवद्र्धनका नयाँ कार्यक्रम तय गरिने उनको भनाइ छ ।

कार्यक्रममा सम्बोधन गर्दै उनले काँकडभिट्टा नाकामा देखिएको समस्याको कारण विदेशी पर्यटक भित्र्याउन समस्या भएको जानकारी गराए । भारतीय पर्यटकलाई स्थानीय सरकारले जबरजस्ती पार्किङ कर उठाउने गरेको गुनासो गर्दै उनले एकद्वार प्रणालीबाट भ्रमण अनुमतिको लागि प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

सन् २०१८ देखि सुरु भएको मार्ट कोरोना महामारीको कारण बिचमा स्थगित भएर यस पटक चौथो संस्करण गर्न लागिएको हो ।
इस्टर्न ट्राभल्स मार्ट २०२४ का सचिव वासुदेव बरालका अनुसार नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारको संयुक्त लगानीमा मार्ट आयोजना भएको हो । पर्यटन बोर्डबाट ३० लाख र इटहरी उपमहानगरपालिकाको ३ लाख गरी ३३ लाख लगानीमा मार्ट सम्पन्न हुने उनले बताए ।

कोशी प्रदेशको समग्र उत्पादनलाई सीमावर्ती भारतीय सहरमा पु¥याउने उद्देश्यको साथ प्रदेशका महत्वपूर्ण व्यापारिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गराउन लागिएको सचिव बरालको दाबी छ । विदेशीबाहेक नेपाल भित्रैबाट लुम्बिनी, बाग्मती, गण्डकी, मधेस र अन्य प्रदेशका ५० भन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्